
काठमाडौं, कार्तिक १४
नेपाल वायुसेवा निगमले आइतबारका लागि राखेको आरए–२१७÷२१८ नम्बरको काठमाडौं–दिल्ली–काठमाडौं र सोमबार बिहान रद्ध गरेको आरए २०५–२०६ नम्बरको उडान विशेष कारणवश रद्ध गर्नुपरेको भन्दै माफी मागेको छ ।
उडान अनुमति नलिई दिल्ली र काठमाडौंमा ४ सय ५० जना यात्रु अलपत्र पार्नेगरी भएको उक्त घटनाबारे निगमले आज विज्ञप्ती नै निकालेर माफी मागेको हो । ३० अक्टोबर २०२२ को काठमाडौं–दिल्ली–काठमाडौंको आरए २१७–२१८ र ३१ अक्टोबरको उडान नम्बर आरए २०५–२०६ विशेष कारणवश रद्ध भएकाले यात्रुवर्गमा पर्न गएको असुविधा प्रति निगम दुःख व्यक्त गर्दछ‚ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ । निगमले आगामी दिनमा पुनः यस्ता घटना नदोहोरिने प्रतिवद्धता समेत जनाएको छ ।
यसअअघी आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवनराम श्रेष्ठले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, वाणिज्य विभागका निर्देशक जनकराज कालाखेती, यात्रु सेवा विभागका निर्देशक टंकनिधि दाहाललगायतलाई मन्त्रालयमा बोलाएर छलफल गर्नुभएको थियो ।