काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । बजार बन्द हुँदा नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा बन्द भएको हो ।
कारोबार अवधिभर बजारमा उतारचढाव देखिएको थियो । सुरुवाती चरणमा केही समय बढेको बजार त्यसपछि ओरालो लाग्दै २५९० विन्दुको आसपास पुगेको थियो । अन्तिम समयमा केही सम्हालिने प्रयास गरे पनि बजार राताम्मे हुँदै बन्द भयो ।
आज अधिकांश उपसूचकमा गिरावट आएको छ । बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स समूहका सूचक घटेका छन् ।
म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूहमा सबैभन्दा धेरै ५४.५२ अंकको गिरावट आएको छ । यद्यपि, ननलाइफ इन्स्योरेन्स र अन्य समूहका सूचक भने सामान्य बढेका छन् ।
दिनभरको कारोबारमा ६९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज आईसीएफसी फाइनान्सको डिबेञ्चरको मूल्य सबैभन्दा धेरै ९.१८ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । कम्पनीको २२ करोड ९९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।










