काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ र रिहाइ प्रकरण थप पेचिलो बन्दै गएको छ । मध्यरातमा पक्राउ गरी करिब ११ घण्टापछि रिहा गरिएको घटनालाई राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर रूपमा लिएको छ ।
प्रहरी हिरासतमा रहेका जबरालाई भेट्न पुगेको आयोगको टोलीलाई प्रहरीले भेट्न नदिएपछि आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई मंगलबार आयोगमा बोलाएको हो ।
राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार प्रहरी प्रधान कार्यालयमार्फत एसएसपी खड्कालाई आयोगमा बोलाइएको हो । आइतबार पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेको र त्यसपछि आयोगको टोलीले अनुगमन गर्न नपाएको विषयमा छलफल गर्न उनलाई बोलाइएको पोखरेलले बताए ।
आयोगको टोली आइतबार टेकुस्थित कार्यालयमा पुगेर जबराको पक्राउबारे अनुगमन गर्न खोजेको थियो । तर, प्रहरीले करिब एक घण्टा गेटमै कुराएर टोलीलाई फर्काएको आयोगको भनाइ छ । यस विषयमा आयोगले आइतबार नै विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो ।
जबराको पक्राउ प्रकरणलाई लिएर सोमबार संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा समेत प्रश्न उठेको छ । विपक्षी दलहरूले घटनालाई लिएर सरकारको आलोचना गर्दै सरकार स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाएका छन् ।










