मुगुमा जडीबुटी संकलन गर्न गएका ९ जना बेपत्ता भएका छन्। घटनामा एक जनाको मृत्यु भएको छ। बेपत्ता तथा मृत्यु हुनेमा मुगुम कार्मारोङ गाउँपालिका–९ पाँपु र छायलका स्थानीय रहेका छन्।
उनीहरू मुगुम कार्मारोङ गाउँपालिका–९ र हुम्लाको चंखेली गाउँपालिका–७ को सीमा क्षेत्रमा पर्ने वनमा असोज २ गते जडीबुटी संकलन गर्न गएका थिए।
स्थानीयका अनुसार उक्त वन क्षेत्रमा दुई दिनअघि हुम्लाको चंखेली गाउँपालिकाबाट पुगेका स्थानीय र मुगुबाट जडीबुटी संकलन गर्न पुगेका युवाबीच झडप भएको थियो। झडपपछि भाग्ने क्रममा मुगुका एक जनाको मृत्यु भएको र ९ जना बेपत्ता भएको बताइएको छ।
जडीबुटी संकलनका क्रममा हुम्लातर्फबाट ठूलो संख्यामा आएको समूहसँग झडप भएपछि पाँपु र छायल गाउँका १३ जना युवा भागेका थिए। भाग्ने क्रममा पाँपु गाउँका २२ वर्षीय गणेश बुढाको मृत्यु भएको हो।
यस्तै, तीन जना सम्पर्कमा आइसकेका छन् भने बाँकी ९ जना अझै बेपत्ता रहेको स्थानीयले बताएका छन्।
घटनास्थल विकट हुनुका साथै हिमपातका कारण आवतजावतमा समेत समस्या रहेकाले बेपत्ताको खोजीका लागि प्रहरी चौकी छायल र जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी पठाइएको प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले जानकारी दिएका छन्।
थप उद्धार तथा खोजीका लागि हेलिकप्टर व्यवस्थापन गर्न पहल भइरहेको उनले बताएका छन्।










