हिरासतमा लिइएका पूर्वप्रधानन्यायाधीश राणा घर फर्किए

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । मध्यरातमा प्रहरीले नियन्त्रणमा लिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा केही समयअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट बाहिरिएका छन्।

स्रोतका अनुसार राणालाई नियन्त्रणमा लिन गएको प्रहरी टोलीका कमाण्डर तथा अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले आफ्नै गाडीमा राखेर उनलाई घर पुर्‍याएका छन्।

राणालाई नियन्त्रणमा लिन एसएसपी खड्काको नेतृत्वमा प्रहरी टोली महाराजगञ्जस्थित उनको निवास पुगेको थियो। टेकुस्थित कार्यालयबाट बाहिर निकालेर उनलाई परिवारका एक सदस्यको जिम्मामा पठाइएको जनाइएको छ।

यसअघि राणालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली अपराध अनुसन्धान कार्यालय पुगे पनि प्रहरीले प्रवेश अनुमति दिएको थिएन। आयोगको टोली करिब ४५ मिनेट गेटमै बसेर राणालाई नभेटी फर्किएको थियो।

राणालाई नियन्त्रणमा लिइएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयको आदेश रहेको दाबी गरिएको छ। यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। प्रहरी अधिकारीहरूले भने राणालाई पक्राउ नगरिएको र असुरक्षा देखिएकाले सुरक्षा दिइएको दाबी गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्