काठमाडौं : लगातारको अविरल वर्षाका कारण देशैभरको जनजीवन अस्तव्यस्त बनेको छ।पहाडमा भीषण पहिरो र तराईमा डुबानले ५४ वटा सडक खण्ड अवरुद्ध भई हजारौं यात्रुबीच बाटोमै अलपत्र परेका छन्।कोशी र नारायणी नदीमा जलस्तरले खतराको तह पार गरेपछि ब्यारेजका ढोका खोलिएका छन् भने उच्च जोखिममा रहेका २५ जिल्लामा सवारी सञ्चालन पूर्णरूपमा बन्द गरिएको छ।
बंगालको खाडीमा उत्पन्न न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशका अधिकांश भूभागमा बिहीबारदेखि लगातार वर्षा भइरहेको छ।वर्षाका कारण यहाँका खोलानालामा जलसतह बढिरहेको छ।ठाउँ–ठाउँमा पहिरो खसेर सडक अवरुद्ध छन्।
अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र नदीहरूको उच्च बहावका कारण जनजीवन प्रभावित भएको छ।नेपाल प्रहरीको पछिल्लो विपद् तथ्यांक र विभिन्न सडक विभागको विवरणअनुसार देशभरका प्रमुख राजमार्गहरू ठाउँ–ठाउँमा अवरुद्ध भएपछि यातायात सेवा ठप्प भएको छ।काठमाडौंको नयाँ बसपार्कलगायत देशका विभिन्न ट्रान्जिटहरूबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन र यात्रुहरूबीच बाटोमै अलपत्र परेका छन्।लगातारको वर्षाका कारण भइरहेको यातायात अवरोधले ढुवानी तथा नागरिकहरूलाई गन्तव्यमा पुग्न ठूलो सास्ती थपेको छ।
गण्डकी प्रदेशमा मात्रै पहिरो र लेदोका कारण १६ वटाभन्दा बढी मुख्य सडक खण्डहरू पूर्णरूपमा बन्द भएका छन्।सिद्धार्थ राजमार्ग, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, र बेनी–जोमसोम सडक खण्डमा यातायात सेवा पूर्णरूपमा ठप्प रहेको छ।मुस्ताङको कालभीर, म्याग्दीका विभिन्न ग्रामीण सडक, बागलुङको निसीखोला क्षेत्र तथा पर्वतको मोदीखोला आसपास गएको भीषण पहिरोले सडक सञ्जाललाई छिन्नभिन्न बनाएको छ।
यसैबीच, नदीहरूको जलस्तर खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह अत्यधिक बढेपछि सुरक्षा सतर्कता स्वरूप गण्डक ब्यारेजका सबै ३६ वटै ढोका खोलिएका छन्।त्यस्तै, कालीगण्डकी नदीको मोदीवेणी क्षेत्रमा जलसतहले चेतावनीको तह पार गरेको छ।नदी किनारका बस्तीहरू डुबान र कटानको उच्च जोखिममा रहेकाले स्थानीय प्रशासनले नदी आसपासका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सर्न विशेष अपिल गरेको छ।
सप्तकोशीमा वर्षकै उच्च बहाव देखिएको छ।कोशी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोका खोलिएका छन्।तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
राजमार्गहरूमा ठूलाठूला पहिरो खस्दा गन्तव्यतर्फ हिँडेका हजारौं यात्रुबीच बाटोमै अलपत्र परेका छन्।नयाँ बसपार्कबाट बाहिरिएका गाडीहरू बाटामा रोकिएपछि खानेकुरा र बासको समेत समस्या भएको छ।सम्भावित मानवीय क्षति र दुर्घटनालाई रोक्न नेपाल प्रहरीले अति संवेदनशील र जोखिमयुक्त क्षेत्रहरूमा रात्रिकालीन समयमा लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।प्रहरीले मौसममा पूर्ण सुधार नआएसम्म र अवरुद्ध सडकहरू पूर्णरूपमा सफा नभएसम्म अति आवश्यक बाहेकका लामो यात्रा नगर्न सम्पूर्ण नागरिकहरूलाई जोडदार अनुरोध गरेको छ।
चौबीस घण्टामा १४३ घटना, ३ को मृत्यु, ४२२ को उद्धार
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विगत २४ घण्टामा देशभर विपद्का कुल १ सय ४३ वटा घटना भएका छन्।यी घटनाहरूमा ३ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता र १३ जना घाइते भएका छन्।डुवानमा परेका व्यक्तिको सुरक्षा निकाय तथा प्राविधिक टोलीको सक्रियतामा ४ सय २२ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार २४ घण्टाको अवधिमा बाढीका ११ र पहिरोका ३४ वटा घटना भएका छन्।बाढीका कारण १ जना र सर्पदंशबाट १ जनाको ज्यान गएको छ भने पहिरोमा परी १ जना बेपत्ता भएका छन्।उद्धार कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित ६ सय ७८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
विपद्का कारण देशभर ५४ वटा सडक खण्ड अवरुद्ध हुनुका साथै करिब ४७ लाख ५९ हजार रुपैयाँबराबरको अनुमानित भौतिक क्षति र ८ वटा चौपायाको क्षति भएको छ।
- अविरल वर्षाका कारण देशभर ५४ सडक खण्ड अवरुद्घ, हजारौं यात्रुबीच बाटोमै अलपत्र।
- गण्डकी प्रदेशमा मात्रै १६ भन्दा बढी मुख्य सडकखण्ड बन्द, सिद्घार्थ राजमार्ग, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र बेनी–जोमसोम प्रभावित।
- नारायणी नदीमा जलसतह अत्यधिक बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिए।
- सप्तकोशीमा वर्षकै उच्च बहाव, कोशी ब्यारेजका ५६ मध्ये ४३ ढोका खोलिए।
- कालीगण्डकीको मोदीवेणी क्षेत्रमा पनि जलसतह चेतावनी तह पार, तटीय बस्तीलाई सतर्कता अपनाउन आग्रह।
- पछिल्लो २४ घण्टामा १४३ विपद्का घटना; ३ जनाको मृत्यु, १ बेपत्ता र १३ जना घाइते।
- मौसमविद्का अनुसार वर्षा पूर्वबाट पश्चिमतर्फ सर्ने र पश्चिम तराईमा भारी वर्षाको सम्भावना।
नदीको जलसतह बढेपछि मन्त्रालयद्वारा टोली परिचालन
देशभर परेको अविरल वर्षाका कारण देशका प्रमुख नदी तथा खोलाहरूमा जलसतह बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दिनभर निरन्तर अनुगमन गरी आपत्कालीन सतर्कता बढाएको छ।मन्त्रालय मातहतका जलस्रोत तथा सिँचाइ कार्यालयहरू, स्थानीय प्रशासन र स्थानीय तहसँगको समन्वयमा प्राविधिक टोलीहरू बाढी नियन्त्रण सामग्रीसहित स्थलगत रूपमा तयारी अवस्थामा राखिएका छन्।सल्यानको कालीमाटीस्थित शारदा नदीमा जलसतह उल्लेख्य रूपमा बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ भने झापाको कन्काई र रौतहटको लालबकैया नदीमा सुरक्षाकर्मी र प्राविधिक टोलीको सहयोगमा बालुवाका बोरा तथा तारजाली राखेर कटान रोक्ने काम निरन्तर जारी छ।
चितवनको भरतपुरस्थित गौरेश्वर मन्दिरनजिक नारायणी नदीले आपत्कालीन कार्य गरिएको क्षेत्र डुबानमा पारे पनि अन्य अति जोखिमयुक्त स्थानहरू सेतीदेवी र माझुवामा भने पूर्वतयारीका संरचनाले गर्दा उल्लेख्य क्षति हुन पाएको छैन।त्यसैगरी दाङको पश्चिम राप्ती, बबई तथा प्यूठानको माडी नदीका नवनिर्मित तटबन्ध र स्परहरू सुरक्षित रहेकाले अवस्था सामान्य उन्मुख रहेको मन्त्रालयले जनाएको छ।मन्त्रालयले कटान भइरहेका नदी किनार र तटबन्धनजिक नजान तथा जल तथा मौसम विज्ञान विभागको पूर्वसूचना ध्यानपूर्वक पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
२५ जिल्लामा आइतबार यातायात बन्द
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षासँगै बाढी पहिरोको जोखिमका आधारमा ७७ जिल्लालाई तीन भागमा विभाजन गरेको छ।जोखिमलाई रातो, सुन्तला र पहेंलो रङमा विभाजन गरिएको छ।जसअनुसार २५ जिल्ला रातो अर्थात् धेरै जोखिममा छन्।
बाढी, पहिरोको उच्च जोखिममा रहेका कारण ती जिल्लाहरूमा सवारी साधन राति र दिउँसो दुवै समयमा पूर्णरूपमा बन्द गर्न प्राधिकरणले सुझाएको छ।त्यस्तै, सुन्तला रंगले संकेत गरिएका २९ जिल्लाहरूमा रातको समयमा बन्द गर्ने र दिउँसोको समयमा अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टले निर्णय आवश्यक निर्णय लिने भनिएको छ।पहेंलो रङले संकेत गरिएका २३ जिल्लाहरूमा सतर्क रहने भनिएको छ।मौसमविद् रोजन लामिछानेका अनुसार वर्षा पूर्वबाट पश्चिमतर्फ केन्द्रित हुने अनुमान छ।पश्चिम तराईका जिल्लाहरूमा अत्याधिक वर्षाको सम्भावना छ।हिमाली जिल्लामा हिमपात हुने सम्भावना छ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित
गोकर्णेश्वर नगरपालिका–१, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित धाप बाँध पूर्णरूपमा सुरक्षित रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।भारी वर्षापछि बाँधको अवस्थाबारे सार्वजनिक टीकाटिप्पणी हुने गरेको थियो।सिँचाइ विभागअन्तर्गतको नागमती तथा धाप बाँध आयोजनाले अनुगमनपछि जोखिम नरहेको जनाएको छ।काठमाडौं उपत्यकाको सुक्खायामको पानी आपूर्ति गर्न निर्मित यस बाँध क्षेत्रमा वर्षाका कारण पानीको बहाव बढेपछि प्राविधिक टोलीले नियमित निगरानी गरिरहेको छ।गत भदौ २४ गते स्याडल ड्यामनजिक पहिरो गएपछि सुरक्षाका लागि निकास द्वारबाट प्रतिसेकेन्ड करिब ४०० लिटर पानी निरन्तर बाहिर पठाइएको थियो।
यसबाट जलाशयको जलसतह २.३८ मिटरले घटेर हाल २०८४.८० मिटरमा झरेको छ भने सञ्चित पानीको ३५ प्रतिशत हिस्सा निकास भइसकेको छ।बाँधको सामान्य जलसतह २०८७.१४ मिटर रहेकोमा सोभन्दा माथि पानी पुगेमा स्वतः बाहिरिने प्राविधिक व्यवस्था छ।
हाल वर्षा र पानीको आगमन घट्दै गएको तथा पहिरो प्रभावित क्षेत्रमा निकास, तटबन्ध र आपत्कालीन कार्य अघि बढाइएकाले कुनै जोखिम नरहेको आयोजनाले जनाएको छ।प्राविधिक मूल्यांकन निरन्तर भइरहेकाले सर्वसाधारणलाई नआत्तिन र आधिकारिक सूचनामा मात्र विश्वास गर्न मन्त्रालयले आग्रह गरेको छ।








