बुटवल — लगातारको वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीका कारण १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा उत्पादन बन्द गरिएको छ । कालीगण्डकी नदीले मिर्मीस्थित करिब ५० मिटर लामो पक्की पुलसमेत बगाएको छ ।
कालीगण्डकीमा पानीको बहाव बढेसँगै स्याङ्जाको बेलटारीस्थित पावरहाउसबाट पानी बाहिरिने ‘टेलरेस’ भन्दा नदीको सतह १५ मिटरमाथि पुगेपछि आयोजना बन्द गरिएको हो ।
आयोजनाको मिर्मीस्थित कार्यालयका सहायक प्रशासनिक अधिकृत ठाकुर पाण्डेका अनुसार पावरहाउसको टेलरेस क्षेत्र नै डुबानमा परेपछि विद्युत् उत्पादन बन्द गरिएको हो । ‘शुक्रबार राति पौने १० बजेदेखि हामीले विद्युत् उत्पादन बन्द गरेका थियौं,’ उनले भने, ‘पानीको बहाव बढेपछि ड्याम साइटका तीनवटै ढोका खोलेका छौं ।’
तीनवटै गेट खोलिएपछि पावरहाउसका तीनवटै टर्बाइन बन्द गरिएको उनले बताए । शनिबार रातिदेखि कालीगण्डकी नदीको जलसतह बढेको थियो । बढेको नदीले आइतबार बिहान करिब ६ बजेतिर मिर्मिस्थित पक्की पुल बगाएको हो । उक्त पुलले गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको गुल्मी जोड्नुका साथै स्याङ्जालाई कालीगण्डकी करिडोरसँग जोडेको थियो ।
पुल बगाएपछि करिडोर हुँदै गुल्मीको अर्वेनी, पूर्तिघाट र बाग्लुङतर्फको आवागमन बन्द भएको छ । गुल्मी र बाग्लुङका विभिन्न स्थानबाट मिर्मि, स्याङ्जा हुँदै पाल्पा र बुटवल आउने यात्रु पनि प्रभावित भएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिका हर्मिचौरका शिक्षक तिलाचन पाण्डेले आवागमन प्रभावित भएको बताए ।
आयोजनाका सहायक प्रशासनिक अधिकृत पाण्डेका अनुसार कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा २०५३ सालमा करिब ५० मिटर लामो पक्की पुल निर्माण गरिएको थियो । मर्मत अभावमा जीर्ण बनेको पुल आइतबार बिहान नदीले बगाएपछि स्याङ्जाबाट गुल्मी तथा गुल्मीबाट स्याङ्जा हुँदै बुटवल जाने सडक सम्पर्क विच्छेद भएको उनले बताए ।
रुरू क्षेत्र डुबानमा
कालीगण्डकी नदीमा बढेको पानीको बहावले गुल्मीको रुरु क्षेत्र पनि डुबानमा परेको छ । स्थानीय समाजसेवी हिमाल श्रेष्ठका अनुसार कालीगण्डकी करिडोरको सडक, रुरु क्षेत्र खेलमैदान तथा श्रृंगेश्वर मन्दिरका सिँढीसम्म पानी पुगेको छ ।
वर्षासँगै पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको र तराईका जिल्लामा डुबानको जोखिम रहेको प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार प्युठानको स्वर्गद्वारी नगरपालिका-२ धर्मशाला तथा गौशालामा हावाहुरीका कारण १९ वटा टिनका पाता उडेका छन् । नौबहिनी गाउँपालिका-७ चोरधारमा पाँचवटा घरका छाना उडाएको केन्द्रले जनाएको छ । प्रभावित हुनेमा विउमन रोकाय, मोतिराम सुनार, टोपाराम सुनार, वीरबहादुर घर्ती र धीरबहादुर जिसीका घर छन् ।








