नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय भेटवार्ता: जलवायुजन्य विपद्को सामना गर्ने

खबर बुक
  • ख-
  • ख+

न्युयोर्क, ८ असोज । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रको अवसरमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र आइसल्यान्डकी परराष्ट्रमन्त्री पोर्गदर क्याट्रिन गुनार्सदोतिरबीच साइडलाइन भेटवार्ता सम्पन्न भएको छ।

भेटका क्रममा दुवै देशका परराष्ट्रमन्त्रीहरूले जलवायु परिवर्तनका कारण उत्पन्न अभूतपूर्व आर्थिक तथा मानवीय क्षतिबारे गहन विचार-विमर्श गर्नुभयो। विशेषगरी नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले बढाएको जोखिमबारे छलफल भएको थियो।

छलफलका क्रममा दुवै मन्त्रीहरूले विपद्पछिको द्रुत पुनःस्थापना, पुनर्मिलन तथा पुनर्निर्माणका लागि सरकारका सबै तहका साथै समाजका सबै पक्षको एकीकृत र समन्वित प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो। प्रभावित समुदायलाई तत्काल राहत पुर्‍याउन र दीर्घकालीन पुनर्निर्माणको कार्यलाई तीव्रता दिन समग्र सरकारी तथा सामाजिक संयन्त्र परिचालन गर्नुपर्नेमा दुवै पक्ष सहमत देखिएका छन्।

जलवायु परिवर्तनका बढ्दो जोखिम, प्रविधि तथा क्षमताको अभाव र सीमित स्रोतसाधनजस्ता चुनौतीहरूलाई सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता र अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने निष्कर्ष भेटवार्तामा निकालिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्