सप्तकोशीको बाढी सप्तरीका बस्तीमा, ५०० घर डुबानमा

खबर बुक
  • ख-
  • ख
  • ख+

सप्तरी । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ। बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका करिब ५०० घर डुबानमा परेका छन्।

बाढीबाट दुई हजारभन्दा बढी मानिस प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ। हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२ र १३ का बस्तीमा मात्रै ४८३ घर डुबानमा परेका छन्। यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा १७ घर डुबानमा परेका छन्।

हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीका अनुसार शुक्रबार रातिदेखि सप्तकोशी नदीमा पानीको बहाव बढेपछि बस्तीमा बाढी पसेको हो।

बाढी प्रभावितका लागि तत्काल राहतस्वरूप बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। पानीको सतह केही घटेपछि प्रभावित परिवारको पहिचान गरी थप राहत सामग्री वितरण गर्ने तयारी गरिएको छ।

लगातारको वर्षा र नदीको जलस्तरमा भइरहेको उतारचढावका कारण सप्तरीका नदी तथा तटीय क्षेत्रमा जोखिम कायमै रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्