देउवा समूहले तोक्यो कांग्रेस महाधिवेशनको उम्मेदवारी शुल्क

खबर बुक
  • ख-
  • ख
  • ख+

देउवा समूहको कांग्रेस महाधिवेशन : सभापतिदेखि वडा सदस्यसम्म उम्मेदवारी शुल्क तोकियो

काठमाडौं । समानान्तर महाधिवेशनको तयारी गरिरहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले विभिन्न पदमा उम्मेदवार बन्ने शुल्क निर्धारण गरेको छ।

डा. शशाङ्क कोइराला नेतृत्वको १५औँ महाधिवेशन आयोजक समितिअन्तर्गतको केन्द्रीय निर्वाचन समितिले तयार पारेको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका–२०८३’ मा वडा सदस्यदेखि केन्द्रीय सभापतिसम्म उम्मेदवारी शुल्क तोकिएको हो।

निर्देशिकाको अनुसूची–२५ अनुसार वडा कार्यसमितिको सभापतिका लागि २५० रुपैयाँ, उपसभापति, सचिव र सहसचिवका लागि १५० रुपैयाँ तथा सदस्यका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ।

गाउँपालिका कार्यसमितिको सभापतिका लागि १ हजार, उपसभापति, सचिव र सहसचिवका लागि ५०० तथा सदस्यका लागि २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। नगरपालिकामा सभापतिका लागि २ हजार, उपसभापति र सचिवका लागि १ हजार ५००, सहसचिवका लागि १ हजार तथा सदस्यका लागि ५०० रुपैयाँ तोकिएको छ।

महानगर र उपमहानगर कार्यसमितिको सभापतिका लागि २ हजार ५००, उपसभापति र सचिवका लागि १ हजार ५०० तथा सहसचिव र सदस्यका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ।

प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि २ हजार ५००, उपसभापति र सचिवका लागि १ हजार ५०० तथा सहसचिव र सदस्यका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि ३ हजार ५००, उपसभापति र सचिवका लागि २ हजार ५००, सहसचिवका लागि २ हजार तथा सदस्यका लागि १ हजार रुपैयाँ तोकिएको छ।

जिल्ला कार्यसमिति सभापतिका लागि ५ हजार, उपसभापति र सचिवका लागि ३ हजार ५००, सहसचिवका लागि ३ हजार तथा सदस्यका लागि १ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

प्रदेश कार्यसमिति सभापतिका लागि १० हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६ हजार तथा सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ।

त्यस्तै, केन्द्रीय कार्यसमिति सभापतिका लागि ३० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ।

निर्देशिकामा प्रदेश महाधिवेशन प्रतिनिधिका लागि १ हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २ हजार ५०० तथा केन्द्रीय महासमिति सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्