काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गरेको सम्बोधन अन्तर्राष्ट्रिय रूपमा समेत चर्चित बनिरहेको छ। सम्भवतः पहिलोपटक नेपालका प्रधानमन्त्रीले महासभामा राखेका विषयलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत प्राथमिकताका साथ स्थान दिएका छन्।
प्रधानमन्त्री शाहले महासभाको सामान्य बहसमा सम्बोधन गर्दै जलवायु न्यायका लागि विश्व समुदायसमक्ष जोडदार अपिल गरेका थिए। उनको सम्बोधन नेपालमा समेत चर्चाको विषय बनेको छ। विपक्षी दलका नेताहरूले समेत उनको सम्बोधनको प्रशंसा गरेका छन्।
राष्ट्रसंघको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएका विश्व नेताहरूका सम्बोधनमध्ये प्रधानमन्त्री शाहको भिडियो सबैभन्दा बढी हेरिएको दाबी गरिएको छ। उनको सम्बोधनले ४ लाख ७० हजारभन्दा बढी भ्यूज पाएको छ भने भिडियोमा ४ हजार ६ सयभन्दा बढी कमेन्ट आएका छन्।
दोस्रोमा इरानका राष्ट्रपति मसुद पेजेस्कियनको सम्बोधन रहेको छ। उनको करिब २० मिनेट लामो सम्बोधन अहिलेसम्म ४ लाख १३ हजारपटक हेरिएको छ। तेस्रोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प छन्, जसको सम्बोधन ३ लाख ८३ हजारपटक हेरिएको छ।
प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा परम्परागत कूटनीतिक भाषाभन्दा माथि उठेर विश्व व्यवस्थाको दोहोरो मापदण्डमाथि प्रश्न उठाएका थिए। उनले नेपालको विपत्तिलाई नेपालको मात्र समस्या नभई भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढी र त्यसले निम्त्याएको मानवीय क्षतिलाई जलवायु परिवर्तनको विश्वव्यापी संकटसँग जोडेका थिए।
अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) ले नेपालको बाढीलाई जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी चेतावनीका रूपमा प्रस्तुत गरेको थियो। बेलायतको ‘द गार्जियन’ ले पनि यही पक्षलाई आफ्नो समाचारको मुख्य विषय बनाएको थियो।
बालेनले विपत्तिपछिको पुनर्निर्माणका लागि नेपाललाई थप ऋणको भार बोकाउनुको सट्टा पर्याप्त अनुदान उपलब्ध गराउनुपर्ने माग गरेका थिए। जलवायु परिवर्तनमा न्यून योगदान गरेका नेपालजस्ता मुलुकले त्यसबाट भएको क्षति बेहोर्न थप ऋण लिनुपर्ने अवस्था न्यायसंगत नहुने उनको तर्क थियो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि उनको सम्बोधनलाई यही विषयसँग जोडेर समाचार बनाएको थियो। जलवायु विपत्तिपछिको पुनर्निर्माणका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोगको उनको मागलाई समाचारको मुख्य विषय बनाइएको थियो।
बालेनको सम्बोधनको अर्को महत्त्वपूर्ण पक्ष नेपाल, भारत र चीनलाई समेटेर ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्ने प्रस्ताव थियो। हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेका जोखिमसँग जुध्न तीन देशबीच सहकार्य गर्ने उनको प्रस्ताव थियो।
भारतको ‘द इन्डियन एक्सप्रेस’ ले बालेनको जलवायु कूटनीतिलाई भारतका लागि समेत महत्त्वपूर्ण विषयका रूपमा प्रस्तुत गरेको थियो। भारतीय सञ्चारमाध्यमले नेपाल–भारत–चीन सहकार्यको प्रस्तावलाई विशेष महत्त्व दिएका थिए।
बालेनको भाषणमा सबैभन्दा ध्यान खिच्ने अभिव्यक्तिमध्ये एउटा थियो—युद्धका लागि आवश्यक हतियार विश्वको जुनसुकै कुनामा सहजै पुग्ने व्यवस्था भए पनि किसानले आवश्यक समयमा मल र इन्धनसमेत पाउन नसक्ने अवस्था छ।
एनडीटीभीले उनको यही अभिव्यक्ति र विश्व व्यवस्थामाथिको आलोचनालाई प्रमुखताका साथ प्रस्तुत गरेको थियो।
एनडीटीभी प्रोफिटको सूचीमा बालेन
भारतको व्यापारिक तथा आर्थिक समाचार च्यानल एनडीटीभी प्रोफिटले संयुक्त राष्ट्रसंघमा गरिएका प्रभावशाली भाषणहरूको संकलनमा बालेनको सम्बोधनलाई पनि समेटेको छ।
उक्त च्यानलले यस वर्षको महासभामा प्रस्तुत गरिएका ५ वटा ‘सबैभन्दा शक्तिशाली भाषण’को सूचीमा नेपालका प्रधानमन्त्री शाहको सम्बोधनलाई पनि समावेश गरेको हो।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेज र इरानका राष्ट्रपति मसुद पेजेस्कियन पनि उक्त सूचीमा छन्।
जलवायु परिवर्तन, विकास, भूराजनीति र बहुपक्षीयतावादको भविष्यबारे विश्व मञ्चमा ध्यान आकर्षित गर्ने सीमित क्षण र भाषणमध्ये बालेनको सम्बोधन पनि परेको उल्लेख गरिएको छ।










