काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनाकारण विशिष्ट व्यक्ति (भीआईपी) हरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने टिप्पणी गरेका छन् ।
सोमबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकारले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत राखेको भए त्यो सरकारकै लागि घातक हुने बताएका हुन् ।
‘तथ्य विस्तारै आउँछ, सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ,’ प्रचण्डले भने । उनले यस्ता घटना दोहोरिन नदिन सरकारलाई आग्रहसमेत गरे ।
सरकारले देखाएको ‘सुरक्षा थ्रेट’को कारण सामान्य नागरिकले पनि बुझ्ने खालको बहानाबाजी भएको उनको दाबी थियो । यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुभन्दा सम्बन्धित व्यक्तिको घरमै सुरक्षाकर्मी थप्नुपर्ने उनको तर्क थियो ।
‘त्यो सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो । त्यो लाटोले पनि बुझ्छ बहानाबाजी हो भन्ने,’ प्रचण्डले भने, ‘सुरक्षा थ्रेट हो भने सुरक्षाकर्मी बढाइदिनुपर्यो नि ।’
यस्तै, प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले अहिले बोल्नुपर्ने विषय नै उठाएको प्रतिक्रिया दिए । उनले महासभामा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर अनावश्यक बढाइचढाइ गर्न आवश्यक नरहेको बताए ।
प्रधानमन्त्री बालेनको ठाउँमा अरू जो भए पनि त्यही विषयमा बोल्ने उनको धारणा थियो ।










