काठमाडौं । सिन्धुलीमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
घाइते हुनेमा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिना माया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ रहेका छन्।
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा बा.प्र.०१–०३१ च ९७४९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।
प्रहरीका अनुसार बुधबार बिहान साढे ८ बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका ८ जनाको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
जिपका चालक काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ का २६ वर्षीय नारायण बस्नेत सकुशल रहेका छन्।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










