एजेन्सी । भारतको तमिलनाडु सरकारले सरकारी स्वास्थ्य संस्थाहरूमा जन्मिएका नवजात शिशुहरूलाई उपहारस्वरूप सुनको औँठी प्रदान गर्ने नयाँ कार्यक्रम सुरु गरेको छ। यस योजनाअन्तर्गत सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमा जन्मिने हरेक शिशुलाई २२ क्यारेटको एक ग्राम तौल भएको सुनको औँठी वितरण गरिनेछ।
तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजयले मदुरैस्थित सरकारी राजाजी अस्पतालमा आयोजित कार्यक्रममा शिशुहरूलाई औँठी लगाइदिँदै ‘थाई मामन थंगा मोतिरम’ (मामाको सुनको औँठी) नामक यस योजनाको शुभारम्भ गरेका हुन्। तमिल संस्कृतिमा शिशु जन्मँदा आमाका दाजुभाइ अर्थात् मामाले औँठी वा उपहार दिने परम्परा रहेको छ। सोही सांस्कृतिक महत्त्व र मामा-भान्जाको भावनात्मक सम्बन्धलाई सम्मान गर्दै यो कार्यक्रम लागू गरिएको प्रदेशका स्वास्थ्य मन्त्री अरुण राजले बताएका छन्।
राज्य सरकारका अनुसार नागरिकहरूमा सरकारी स्वास्थ्य सेवाप्रति विश्वास बढाउन र घरको सट्टा अस्पतालमै सुरक्षित प्रसूति गराउन प्रोत्साहन गर्ने उद्देश्यले यो कदम चालिएको हो। यसले आमा र नवजात शिशु दुवैको स्वास्थ्य सुरक्षामा सकारात्मक सुधार ल्याउने र सर्वसाधारणलाई सरकारी अस्पतालहरूसँग भावनात्मक रूपमा जोड्ने अपेक्षा गरिएको छ।
अर्कोतर्फ, विपक्षी दल भारतीय जनता पार्टी (भाजपा) ले योजनाको स्वागत गरे पनि यसको कार्यान्वयनलाई लिएर प्रश्न उठाएको छ। नवजात शिशुलाई सुनको औँठी बाँड्नुभन्दा परिवारका लागि आवश्यक पोषण, स्वास्थ्य सुविधा र सरकारी अस्पतालको समग्र गुणस्तर सुधारमा बजेट केन्द्रित गर्नुपर्ने भाजपाको सुझाव छ।










