काठमाडाैं, ६ कात्तिक।।आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने भएको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि एम मिनेटसम्मको भिडियो बनाएर आयोगको इमेल ठेगाना tiktok@ecn.gov.np मा कात्तिक ५ गतेदेखि १५ गतेभित्र पठाइसक्नुपर्ने छ । आयोगले प्राप्तमध्ये उत्कृष्ट पाँचवटा भिडियोलाई जनही ५० हजार रुपैयाँ पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्ने छ । यसका लागि प्रतियोगीहरूले देहायका शर्तहरु पालना गर्नुपर्ने छ ।
सर्तहरू :
१. भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनु पर्नेछ ।
२. भिडियो संवादमूलक, सन्देशमूलक हुनु पर्नेछ । आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइनेछ ।
३. भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता जागरण हुने खालका विषयवस्तुहरूमा आधारित हुनुपर्नेछ ।
४. निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारीलगायत निर्वाचन सम्बन्धी विषयमा आधारित भएर छुट्टाछुट्टै भिडियो बनाउन सकिनेछ ।
५. कुनै एक व्यक्तिले एउटा विषयमा ५ वटासम्म भिडियो पठाउन सकिने छ । साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर निर्माण गरिएको ५ वटासम्म भिडियो स्वीकार गरिनेछ ।
६. प्राप्त भिडियोहरूमा आयोगको अधिकार रहनेछ । भिडियो सन्देश आयोगले सामाजिक सञ्जाल लगायत डिजिटल माध्यमबाट प्रचारप्रसार र प्रसारणको निम्ति उपयोग गर्नेछ ।
७. तोकिएका शर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियोहरू स्वीकार गरिने छैन ।
८. उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगका अधिकारी रहेको समितिबाट गरिनेछ ।
९. उत्कृष्ट भिडियोहरूमध्ये छनोट समितिको सिफारिसमा रु. ५०,०००।– (पचास हजार) पुरस्कार र प्रसंशापत्र प्रदान गरिनेछ ।
१०. भिडियो २० सेकेन्डदेखि १ मिनेटसम्मको भएमा मात्र मूल्यांकनमा समावेश गरिनेछ ।
११. आयोगले तयार गरेका निर्वाचन सम्बन्धी भिडियोहरूमा पनि टिकटक निर्माण गर्न सकिनेछ ।