कोइला, सुन तथा कच्चा फलामसहितका सामग्रीका लागि औद्योगिक स्तरमा भएको उत्खननले उष्ण प्रदेशीय जङ्गल फडानीलाई बढावा दिएको नयाँ अध्ययनले देखाएको छ ।
कुनै समय छिचोल्न मुस्किल पर्ने जङ्गल अहिले उत्खनन र त्यसका लागि चाहिने बाटोका लागि फडानी भएको अध्ययनमा उल्लेख छ ।
औद्योगिकस्तरको खानी उत्खननले उष्णप्रदेशीय जङ्गल फडानीमा परेको प्रभावबारे भएको पहिलो अध्ययनले ब्राजिल, इन्डोनेसिया, घाना र सुरिनाममा समस्या गम्भीर बनेको जनाएको छ ।
अध्ययनअनुसार उष्ण प्रदेशीय जङ्गलका धनी यी चार देश सन् २००० देखि २०१९ सम्म औद्योगिकस्तरको खानी उत्खननका कारण भएको वन विनाशका लागि करिब ८० प्रतिशत जिम्मेवार रहेका छन् ।
कुल वन फडानीमध्ये कृषिका लागि चाहिने जमिन बनाउन हुने फडानीको आँकडा कम्तीमा ७० प्रतिशत रहेको छ ।
तर, जलवायु परिवर्तनसँग जुध्नका लागि मुख्य आधार मानिएको स्वच्छ ऊर्जा बनाउन चाहिने खनिजका लागि औद्योगिकस्तरको उत्खनन बढ्दा वन फडानी पनि बढेको हो । यसलाई लिएर अनुसन्धानकर्ता चिन्तित भएका छन् ।