चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले चिनियाँ पक्षसँग छलफल गरेपछि नाका खोल्ने सहमति भएको हो। आउँदै गरेको दशैँलाई लक्षित गर्दै नेपाली बजारमा उपभोग्य वस्तुको आपूर्ति सहज र व्यवस्थित बनाउन नेपालले गरेको विशेष आग्रहपछि चिनियाँ पक्ष नाका खोल्न सहमत भएको हो।
तातोपानी नाका अक्टोबर १८ देखि २० सम्म तीन दिनका लागि खुल्नेछ। यस अवधिमा चिनियाँ भूमिमा रोकिएका तथा भन्सार प्रक्रिया पूरा भएका कार्गो ट्रक र मालवाहक सवारीसाधनलाई मात्र आवतजावत गर्न अनुमति दिइनेछ।
दशैँको मुखमा चिनियाँ सामान बोकेका कन्टेनर नाकामै रोकिँदा व्यापारीहरू मारमा परेका थिए। यसले बजारमा उपभोग्य वस्तुको अभाव हुनसक्ने जोखिमसमेत बढाएको थियो। यही अवस्थालाई ध्यानमा राख्दै नाका अस्थायी रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो।
चाडपर्वका बेला उपभोग्य वस्तुको मूल्यवृद्धि र अभाव हुन नदिन सरकारले कूटनीतिक तथा व्यापारिक दुवै तहमा पहल बढाएको थियो। मन्त्री साहको अगुवाइमा भएको संवादपछि चिनियाँ पक्ष नाका खोल्न तयार हुनुलाई नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यको सकारात्मक परिणामका रूपमा हेरिएको छ।
तीन दिनका लागि नाका सञ्चालनमा आएपछि दशैँलाई लक्षित गरी आयात गरिएका कपडा, फलफूल तथा अन्य उपभोग्य सामग्री नेपाली बजारसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। यसबाट व्यवसायी तथा उपभोक्ताले राहत पाउने विश्वास लिइएको छ।











