फूलपातीका लागि असन, इन्द्रचोक र मारु गणेशमा बढ्यो चहलपहल

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा चहलपहल बढेको छ। फूलपातीका लागि आवश्यक सामग्री खरिद गर्न मारु गणेश क्षेत्र, असन र इन्द्रचोकमा सर्वसाधारणको भीड लागेको छ।

फूल, पाती, उखु, अदुवाको बोट, केराको बोटलगायत पूजासामग्री किन्न बिहानैदेखि बजारमा मानिसहरूको चहलपहल देखिएको हो। दसैँको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको फूलपाती भित्र्याउने तयारीमा घरपरिवार व्यस्त हुँदा बजारमा किनमेल गर्नेहरूको सङ्ख्या बढेको छ।

नेपालीहरूको प्रमुख चाड बडादसैँमा फूलपातीको विशेष धार्मिक महत्त्व छ। आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपातीमा विभिन्न वनस्पति तथा फूलपातीलाई विधिपूर्वक घरमा भित्र्याएर दसैँघरमा स्थापना गर्ने परम्परा छ। यसलाई दुर्गा भवानीको आराधना तथा घरमा सुख, शान्ति र समृद्धिको कामनासँग जोडेर हेरिन्छ।

फूलपातीका लागि प्रयोग गरिने फूल, पाती, उखु, अदुवाको बोट र केराको बोटलगायत सामग्रीको धार्मिक तथा सांस्कृतिक महत्त्व रहेकाले यस दिन बजारमा यस्ता सामग्रीको माग बढ्ने गर्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्