काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालमा विभिन्न जातजातिका आ–आफ्नै परम्परा रहे पनि यस पर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्।
उनले दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न मद्दत पुर्याएको उल्लेख गरेका छन्।
विजयादशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र भगवान् रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन स्मरण गर्दै राष्ट्रपति पौडेलले दसैँलाई अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयका रूपमा मनाइने पर्व भएको बताएका छन्।
दसैँमा पारिवारिक जमघट तथा पुनर्मिलनमार्फत खुसीयाली र हार्दिकता साटासाट गरिने उल्लेख गर्दै उनले पारिवारिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राष्ट्रिय दृष्टिले यस पर्वको विशेष महत्व रहेको बताएका छन्।
यसैबीच, देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति राष्ट्रपति पौडेलले दुःख व्यक्त गरेका छन्। उनले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् भने घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
राष्ट्रपति पौडेलले बाढी प्रभावितको पुनःस्थापनाका लागि सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन्।










