क्यानडासँग भिड्दै नेपाल, जिते लिग–२ मा छैटौँ स्थान पक्का हुने

खबर बुक
  • ख-
  • ख
  • ख+

३१ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

नेपालले शृङ्खलामा यसअघि खेलेका दुवै खेल जितेको छ। नेपालले पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा घरेलु टोली ओमानलाई पराजित गरेको थियो। आज पनि क्यानडालाई हराउन सके नेपालले लगातार तेस्रो जित निकाल्नेछ।

लिग–२ को अंकतालिकामा नेपाल छैटौँ स्थानमा छ। नेपालले ३४ खेलबाट २८ अंक जोडेको छ। सातौँ स्थानमा रहेको क्यानडाको ३५ खेलबाट २७ अंक छ।

क्यानडाले प्रतियोगिताको सुरुआती खेलमा ओमान र नेपालसँग हार बेहोरेको थियो। तर, बिहीबार भएको खेलमा ओमानलाई पराजित गर्दै क्यानडाले पुनरागमन गरेको थियो।

आजको खेल नेपालका लागि अंकतालिकामा आफ्नो स्थान सुरक्षित गर्ने दृष्टिले महत्त्वपूर्ण छ। क्यानडालाई पराजित गरे नेपालले लिग–२ को शीर्ष ६ मा आफ्नो स्थान पक्का गर्नेछ। नेपाल पराजित भएमा छैटौँ स्थान सुरक्षित गर्न अन्तिम खेलमा सोमबार ओमानलाई हराउनुपर्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्