कपिलवस्तुमा अनुगमनका क्रममा व्यवसायीले गरे आत्मदाहको प्रयास, प्रहरीद्वारा उद्धार

खबर बुक
  • ख-
  • ख
  • ख+

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित बैंकरोडमा अनुगमनका क्रममा एक व्यवसायीले आफूलाई अन्याय भएको भन्दै आत्मदाहको प्रयास गरेका छन्।

लुम्बिनी प्रदेश प्रहरीको विशेष टोलीले चामल बोकेको पिकअपमा आवश्यक कागजपत्र नभेटिएको भन्दै कारबाहीका लागि भन्सार बुझाएपछि गल्ला पसल सञ्चालक महेश अग्रहरीले शरीरमा मट्टितेल छर्केर आगो लगाउने प्रयास गरेको स्थानीयले बताएका छन्।

शरीरमा मट्टितेल छर्केर आगो लगाउन खोजेका अग्रहरीलाई प्रहरीले तत्काल उद्धार गरेको थियो। त्यसपछि बेहोस भएका उनलाई उपचारका लागि सुरुमा तौलिहवा अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा लगिएको छ।

अग्रहरीले आफूले ल्याएको ६० बोरा चामलको बिलबिजक हुँदाहुँदै पनि चामल नियन्त्रणमा लिइएको दाबी गरेका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी शारदाप्रसाद चौधरीका अनुसार चेकजाँचमा परेका व्यवसायीले मट्टितेल छर्केर शरीरमा आगो लगाउन खोजेका थिए। प्रहरी र स्थानीयले तत्काल जोगाएर उनलाई उपचारका लागि पठाएका हुन्।

चौधरीले घटनाको पूर्ण विवरण आइनसकेको बताउँदै व्यवसायीको शरीरमा आगो नलागे पनि मट्टितेलका कारण असर परेपछि प्रहरी टोलीले भैरहवास्थित मेडिकल कलेजमा उपचारका लागि लगेको जानकारी दिएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्