‘खुलामञ्चमा आएपछि बीपीको पार्टीले केही सन्देश लिनु र दिनुपर्छ’ : गगन थापा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खुलामञ्चमा आफ्नो पार्टीले १५औँ महाधिवेशन गर्नुका कारणबारे चर्चा गरेका छन् ।

खुलामञ्चमा आइसकेपछि बीपी कोइरालाको पार्टीले केही सन्देश लिनुपर्ने र दिनुपर्ने उनको भनाइ छ । साथै, महाधिवेशनलाई नेतृत्व चयन गर्ने कार्यक्रमका रूपमा मात्रै नलिन उनले आग्रह गरे ।

‘यो महाधिवेशनको नेतृत्व चयन गर्ने इभेन्ट मात्रै होइन । खुलामञ्चमा आइसकेपछि बीपी कोइरालाको पार्टीले केही सन्देश लिनुपर्ने र दिनुपर्ने छ । केही सङ्कल्प गर्नुपर्ने छ,’ सभापति थापाले भने ।

उनले खुलामञ्चको विशेषताबारे चर्चा गर्दै फरक विचार भएका मानिसलाई एउटै सार्वजनिक ठाउँमा ल्याउने थलोका रूपमा व्याख्या गरे ।

‘खुलामञ्चमा आएपछि मतभेद सकिन्छ भन्ने होइन । मतभेदलाई एउटै साझा मञ्चमा राख्ने ठाउँ हो खुलामञ्च,’ उनले भने ।

नेपाली कांग्रेसको महाधिवेशनको स्थल खुलामञ्च बनाएर कांग्रेसले नेपालमा यस्ता खुलामञ्च धेरै ठाउँमा आवश्यक रहेको सन्देश दिन खोजेको थापाको भनाइ छ ।

उनले भने, ‘पहिलो खुलामञ्च संसद्मा चाहिएको छ । संसद् खुला छैन । संसद् बन्द छ । जहाँको सांसदले जसरी प्रधानमन्त्री बनाउनुभएको छ, प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने र नबनाउने सांसदको गरिमाका लागि जुन दिनसम्म सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति हुँदैन, त्यो दिनसम्म संसद् खुला हुँदैन ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्