काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले १९ दिने जनआन्दोलनबाट गणतन्त्र आएपछि धर्म परिवर्तनको विषय उठाउँदै कांग्रेस सभापति गगन थापालाई प्रश्न गरेका छन् ।
आइतबार काठमाडौँमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई शुभकामना दिँदै चौधरीले थापालाई यस्तो प्रश्न गरेका हुन् ।
उनले भने, ‘१९ दिने आन्दोलनबाट गणतन्त्र ल्यायौँ तर, त्यो १९ दिने जनआन्दोलनमा गणतन्त्रसँगै मेरो धर्म किन साटियो गगनजी ?’
चौधरीले आफूहरू आफ्नो पहिचानसँग साटफेर नगर्ने बताए । देशको संविधान निर्माणमा कांग्रेसले ठूलो भूमिका निर्वाह गरेको र कमैया मुक्ति समेत गरेको उनले उल्लेख गरे ।
संविधानमा अधिकार लेखिए पनि थारूहरूले अझै अधिकार नपाएको भन्दै उनले थारू समुदायबाट कहिले प्रधानमन्त्री, प्रधानसेनापति र मुख्यसचिव बन्ने अवस्था आउने हो भन्दै थापालाई प्रश्न गरे ।










