देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ : राजेन्द्र लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देश यतिबेला अँध्यारो सुरुङतर्फ प्रवेश गरेको टिप्पणी गरेका छन् । पछिल्लो ६ महिनामा पात्रहरू बदलिए पनि देशको अवस्थामा कुनै सुधार नआएको, बरु झन् बिग्रिँदै गएको उनको भनाइ छ ।
काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अतिथिका रूपमा बोल्दै लिङदेनले यस्तो बताएका हुन् । उनले कांग्रेसको १४औँ महाधिवेशनमा आफूले गरेको भाषणसमेत स्मरण गरे । त्यसबेला उनले ‘जनताको नजरमा सबै नेता चोर हुन्’ भनेपछि निकै विवाद भएको थियो ।
लिङदेनले आफूले त्यसबेला बोलेको कुरा र अहिलेको परिस्थितिमा कुनै परिवर्तन नआएको बताए ।
उनले भने, ‘त्यसबेला आमजनतामा नेताप्रति जति वितृष्णा र घृणा थियो, त्यसमा सुधार भएको छैन । योबीचमा केही परिवर्तन त भयो, मान्छेमा परिवर्तन भयो, तर देशको अवस्था झन् जटिल बनेको छ । देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ । राजनीतिक तरलता झन् बढेको छ । देश ठीक ठाउँमा नआएको मात्र होइन, लिकबाट बाहिर गएको छ । हिजो सरकारको विरोध गर्दा गाली आउँथ्यो भने आज सामाजिक सञ्जाल लगाइन्छ । पात्र फेरियो, प्रवृत्ति फेरिएन ।’
लिङदेनले मान्छे फेरेर मात्र हुँदैन रहेछ भन्ने पछिल्लो ६ महिनाले देखाएको बताए । अब राजा र जेनजीसमेतलाई सँगै ल्याएर नवीन समझदारीमा जान उनले आह्वान गरे ।
उनले भने, ‘तपाईंहरूले उत्कृष्ट भनेर ल्याउनुभएको व्यवस्था देशमा छ । संविधानमा छ । तर यो संविधान गीता, बाइबल, पुराण होइन, छुनु र चलाउनु नहुने । हिजो राम्रै सोचेर बनाउनुभयो होला । तर आज त्रुटि नै त्रुटिका चाङ भेटिएका छन् । अब नमिलेका चिजहरू मिलाएर जानुपर्छ । कमजोरी सुधारेर जानुपर्छ । निषेधको राजनीति लामो समयसम्म चल्दैन । राजाबाट दलहरूलाई र दलहरूले राजालाई निषेध गरे होलान् । यो निषेधको राजनीतिले देशलाई कहाँ पुर्यायो ? त्यसको बारेमा भनिराख्न पर्दैन । अहिले पनि बिग्रेको छैन । देशमा नवीन समझदारीको खाँचो छ । अब राष्ट्रिय सहमतिको खाँचो छ । कसैले नहार्ने, सिंगो देशले जित्ने सहमति निर्माण गरेर जानुपर्छ । राजादेखि राजनीतिक दलहरू, नवयुवा पुस्ता सबैलाई एक ठाउँमा राखेर निकास दिनुपर्छ ।’










