काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण अस्पतालमा भएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएकी छन्।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले अस्पतालबाहिर ३० वर्षीया बबिता पासवानले बच्चा जन्माएको घटनाबारे उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले घटनाबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताइन्।
‘मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएकाले राजविराजको घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ,’ उनले भनिन्।
घटनाको जानकारी प्राप्त हुनासाथ मन्त्रालयले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरेको र अस्पतालले स्पष्टीकरण पेस गरिसकेको मन्त्री मेहताले जानकारी दिइन्।
उनका अनुसार घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभा श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली बिहीबार नै राजविराज पुगेको छ। टोलीमा मन्त्रालयका तर्फबाट स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखा प्रमुख डा. पवनजंग रायमाझी पनि सहभागी छन्।
घटनाको छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समेत समिति गठन भइसकेको मन्त्री मेहताले संसद्लाई जानकारी गराइन्। घटनाका बेला ड्युटीमा रहेका कर्मचारीलाई अस्पतालले कामकाजबाट हटाएको र आवश्यक छानबिन अघि बढाइसकेको पनि उनले बताइन्।










