देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन पक्राउ

खबर बुक
  • ख-
  • ख
  • ख+

२६ कात्तिक, रुपन्देही । देउसी–भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–७ कञ्चनबजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको कपुरकोट गाउँपालिका–४ की २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ की २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ की २४ वर्षीया बिपना मगर छन् ।

उनीहरूमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन् ।

यसअघि रुपन्देही प्रहरीले रुपन्देही देवदह नगरपालिका–७ का ३० वर्षीय चाहना थापा र सर्लाही हरिवन नगरपालिका–३ का २१ वर्षीय प्राप्ति बस्नेतलाई पनि पक्राउ गरेको थियो ।

उनीहरूलाई लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलावार बजारमा पक्राउ गरिएको प्रहरीले जनाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्