राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारसँग सम्बन्धित महिला हिंसाबारे सञ्चारमाध्यममा सार्वजनिक अडियोका हकमा महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ओरेकले जारी गरेको विज्ञप्तिमा महिलामाथि हुने हिंसा तथा दुर्व्यवहारका घटनामा राज्य र राजनीतिक दलको जवाफदेहिता सुनिश्चित हुनुपर्ने उसको माग छ । महिलाको सुरक्षा,सम्मान र मानवअधिकारसँगै राजनीतिक क्षेत्रमा क्रियाशील महिलामाथि सांसदजस्तो गरिमामय पद धारण गरेको व्यक्तिबाटै भएको भनिएको घटनाले महिलाको सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाएको ओरेकको भनाइ छ ।
यस्तो घटनाले सामाजिक प्रतिष्ठा, राजनीतिक पहुँच,आर्थिक शक्ति र संस्थागत प्रभावका आधारमा प्रभावित महिलालाई दबाबमा पार्ने,उनीहरूको आवाज दबाउने तथा न्याय प्रक्रियालाई प्रभावित पार्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न सक्नेतर्फ चिन्ता व्यक्त गरिएको छ ।
आज जारी विज्ञप्तिमा रास्वपाले यस विषयमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको र छानबिनको निष्कर्ष नआएसम्म आरोपितलाई पदबाट हटाउने वा अन्य कारबाही नगर्ने निर्देशन दिएको विषयप्रति पनि ओरेकले ध्यानाकर्षण भएको जनाएको छ । आन्तरिक छानबिन प्रक्रियालाई अघि बढाउनु सकारात्मक भए पनि त्यो सार्वजनिक जवाफदेहिताको विकल्प बन्न नसक्ने ओरेकको भनाइ छ।
घटनाको निष्पक्ष र विश्वसनीय छानबिन सुनिश्चित गर्न राज्यको जिम्मेवार निकायले सक्रिय भूमिका खेल्नुपर्नेमा संस्थाले जोड दिएको छ। त्यसैगरी, सार्वजनिक भएका आरोपको निष्पक्ष अनुसन्धान सुनिश्चित गर्दा प्रभावित महिला र उनका परिवारमाथि पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्न आग्रह गरिएको छ। उनीहरूको सुरक्षा, गोपनीयता र मर्यादाको संरक्षणका लागि तत्काल आवश्यक कदम चाल्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ।
ओरेकले अनुसन्धानबाट आरोप प्रमाणित भएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन पनि माग गरेको छ। महिलामाथि हुने हिंसा, दबाब र धम्कीप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै यस्ता घटनाको प्रभावकारी सम्बोधन गर्न आग्रह गरिएको छ ।
महिलामाथि निजी तथा सार्वजनिक जीवनमा हुने कुनै पनि प्रकारका हिंसा र दुव्र्यवहारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउन, घटनाको निष्पक्ष छानबिन गर्न तथा प्रचलित कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।











