गोकर्णेश्वरले पीसीएल नर्सिङ अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति दिने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार २७ । गोकर्णेश्वर नगरपालिकाले छोरीहरू’ को उच्च शिक्षामा विशेष ध्यान दिँदै पीसीएल नर्सिङ अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति दिने भएको छ । नगरक्षेत्रभित्र स्थायी बसोबास गर्ने भएका छोरीहरुलाई नगर छोरी नर्सिङ शिक्षा कार्यक्रम अन्तर्गत नगरपालिकाले पीसीएल नर्सिङ अध्ययन गर्न चाहने छोरीहरुलाई ५० प्रतिशत छात्रवृत्तिको घोषणा गरिएको नगरप्रमुख दीपक रिसालले जानकारी दिएका छन ।

गोकर्णेश्वरले गत वर्ष पनि नर्सिङ अध्ययनका लागि ११ जनालाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको थियो । नगरपालिकाले आफ्नो नगरमा स्थायी बसोबास गर्दै आएकाहरुलाईमात्र यो सुविधा दिएको नगर प्रमुख दीपक रिसालले जानकारी दिए । ‘हामीले नगरभित्र स्थायी रुपमा बसोबास गरी यहाँको मतदाताका छोराछारीका लागि मात्र यो सुविधा दिएका छौँ,’ उनले भने, ‘गत वर्ष छोरीलाई नर्सिङ अध्यापन गराउनका लागि कतिपय बाबुआमाले बसाईँसराई समेत गरेर आउनुभएको छ ।’

छोरीहरुलाई आत्मनिर्भर बनाउनका लागि नगरले नर्सिङ अध्ययनमा छात्रवृत्ति प्रदान गर्ने गरेको उनको भनाई छ । ‘छोरीलाई आत्मनिर्भर बनाउने उद्देश्यले हामीले यो कार्यक्रम अघि बढाएका छौँ,’ उनले भने, ‘यो कार्यक्रमबाट हामीले गर्व गर्न लायक नर्सिङ जनशक्ति उत्पादन हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’

यसवर्षबाट सीटीइभीटीले सबै कार्यक्रम मेरिटका आधारमा विद्यार्थी छनोट गर्ने भएकाले २० जनाको हाराहारीमा विद्यार्थीहरुले नर्सिङ छात्रवृत्ति पाउन सक्ने उनले बताए । ‘सिटिइभीटीको मेरिट लिष्टमा परेको र गोकर्णेश्वर नगरपालिकाको स्थायी बासिन्दा भएको जति जनालाई पनि हामी छात्रवृत्ति दिन तयार छौँ,’ नगर प्रमुख रिसालले भने

यस कदमले नगरपालिकाका छोरीहरूको शैक्षिक तथा व्यावसायिक प्रगतिको मार्ग प्रशस्त गर्ने विश्वास गरिएको रिसालको भनाइ छ । नगरपालिकाले आफ्ना स्थायी नागरिकहरूलाई यो छात्रवृत्ति कार्यक्रमको फाइदा उठाउनका लागि अनुरोध गरेको छ । कार्यक्रमको लागि आवेदन दिने इच्छुकहरूले आफ्नो नागरिकता प्रमाण–पत्र वा मतदाता परिचय पत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने नगरप्रमुख रिसालले बताए ।

नगर प्रमुख रिसालले, यस कार्यक्रम मार्फत् नर्सिङ क्षेत्रमा नेपाली छोरीहरूको सहभागिता बढ्ने र उनीहरूको भविष्य उज्वल बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्