कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४  फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।

अहिले केहि बेरमा कार्यालय सानेपामा बस्नेछ । बिहीबारको केन्द्रीय समिति बैठकमा महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएका प्रतिवेदनहरू छलफलका लागि प्रस्तुत गरिएको थियो ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीको नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र महामन्त्री गगन थापाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपसभापति खड्काको नीति प्रस्तावमा राजनीतिक, आर्थिक, सामाजिक र परराष्ट्र नीति समेटिएको छ ।

नीति प्रस्तावमा उक्त विषयका वर्तमान चुनौती र समाधानका लागि पार्टीको प्रतिबद्धता पनि उल्लेख गरिएको छ । महामन्त्री थापाको सांगठिनक प्रस्तावमा पार्टीको वर्तमान अवस्था, साङ्गठनिक गतिविधि, नेता कार्यकर्ताको मनोविज्ञान, निर्वाचनमा गठबन्धन गर्ने नीति, मिसनमा प्रस्टता, जिम्मेवारी र जबाफदेही, १५ औँ महाधिवेशनको कार्यतालिका लगायतका विषय समेटिएको छ ।


यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव समकालीन समाज, युवामा छाएको निराशा, आक्रोश र त्यसको समाधानको उपायमाथि केन्द्रित छ ।


उक्त तीनवटा प्रस्तावमाथि आज थप छलफल हुने सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले बताए । उनका अनुसार आजको बैठकमा पार्टीका केन्द्रीय सदस्यले नीति, साङ्गठनिक र समसामयिक राजनीतिक प्रस्तावमाथि सुझाव दिने छन् ।

शनिबार बस्ने केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यको सुझावलाई समेट्ने गरी तीनवटै प्रस्ताव महासमिति बैठकका लागि अनुमोदन गर्ने उनको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्