काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेला विवादबीच सम्पन्न भएको छ।
काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित भेलाको समापन सत्रमा नेतृत्व तहमा देखिएको अनुपस्थिति र वैचारिक मतभेदका कारण केही विवादको अवस्था सिर्जना भएको थियो।
भेलाको समापन समारोहमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी भएनन्। निवर्तमान सभापति शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि विदेशमा रहेका बेला पार्टीको नेतृत्व सम्हालेका खड्का साउन २९ गते आयोजित उद्घाटन सत्रमा भने सहभागी भएका थिए।
समापन समारोहमा खड्का सहभागी नहुनुलाई नेताहरूले अर्थपूर्ण रूपमा लिएका छन्। खड्काको सचिवालयले पनि उनी समापन समारोहमा सहभागी नभएको जनाएको छ।
समापन सत्रमा भेलाका निर्णयहरू सार्वजनिक गर्ने क्रममा पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतबीच सार्वजनिक रूपमै विवाद भएको थियो।
राजनीतिक प्रस्तावसमेत प्रस्तुत गरेका निधिले निर्णयको मस्यौदामा राखिएको धर्मसम्बन्धी शब्दावलीप्रति असहमति जनाएका थिए। डा. महतले तयार पारेको मस्यौदामा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य राखिएको थियो।
तर निधिले उक्त शब्दावलीमा असहमति जनाउँदै त्यसलाई परिमार्जन गरेर सिधै ‘धार्मिक स्वतन्त्रता’ मात्र राख्नुपर्ने अडान लिए।
विवाद बढ्दै जाँदा मञ्चमै दुई नेताबीच निर्णय लेखिएको कागज खोसाखोस भएको दृश्यसमेत देखिएको थियो।
दुई नेताबीच विवाद बढेपछि निवर्तमान सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए। त्यसपछि डा. महतले तयार पारेकै ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा भेलाको निर्णयका रूपमा वाचन गरिएको थियो।










