पार्टीभित्रको अराजकताप्रति ओली आक्रोशित, भने– ‘चिया पसलमा बसेर अध्यक्ष हटाउँछु भन्नु अराजकता हो’

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनहीनता र अराजकता बढेको भन्दै आपत्ति जनाएका छन्।

इलाममा आयोजित कार्यक्रममा ओलीले पार्टीको विधि, विधान र प्रक्रियाविपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याउने चेतावनी दिए। महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेको चर्चा र हस्ताक्षर अभियानलाई उनले ‘अराजकताको पराकाष्ठा’ भने।

पार्टीको निश्चित विधि, प्रक्रिया र समय हुने उल्लेख गर्दै ओलीले चिया गफ तथा क्यान्टिनका बैठकबाट नेतृत्व परिवर्तनको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरे।

‘पार्टीभित्र अहिले अनुशासनहीनता र अराजकता देखिएको छ। पार्टी कार्यालयको क्यान्टिनमा बसेर चिया–समोसा खाँदै पार्टी अध्यक्ष हटाउनेजस्ता कुरा गर्नु गम्भीर विषय हो। अध्यक्ष हटाउने विषयमा जथाभावी हस्ताक्षर गर्दै हिँड्नु पार्टीको विधि, विधान र प्रक्रियाविपरीत हो,’ ओलीले भने।

उनले महाधिवेशन भर्खरै सम्पन्न भएको अवस्थामा पार्टीको आफ्नै विधि, प्रक्रिया र समय हुने बताए। बाह्य शक्ति र विरोधीहरूले पार्टीमाथि तीव्र प्रहार गरिरहेका बेला सिंगो पार्टी एकजुट भएर त्यसको सामना गर्नुपर्ने उनको भनाइ छ।

‘विरोधीहरूले तीव्र प्रहार गरिरहेका बेला सिङ्गो पार्टी एकजुट भएर त्यसको सामना गर्नुपर्ने हो। तर पार्टीभित्रै अध्यक्ष हटाउनेजस्ता अनावश्यक कुरा उठाउनु उचित होइन,’ ओलीले भने, ‘त्यसैले साथीहरूलाई पार्टीप्रति दृढ विश्वास राखेर अघि बढ्न आग्रह गर्दछु।’

ओलीले पार्टीभित्रको आन्तरिक कलहमा लाग्नु आत्मघाती हुने चेतावनीसमेत दिए। अब बस्ने केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासनका साथ अघि बढाउने उनले स्पष्ट पारे।

सामाजिक सञ्जालमार्फत पार्टीको बदख्वाइँ गर्ने तथा अराजकता फैलाउने गतिविधि रोक्न आग्रह गर्दै ओलीले पार्टीमा रहने हो भने अनुशासन पालना गर्न निर्देशन दिए।

उनले कार्यकर्ताहरूलाई कुनै पनि भ्रममा नपरी पार्टीको उद्देश्यप्रति दृढ विश्वासका साथ अघि बढ्न आग्रह गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्