विद्यादेवी भण्डारीको युवालाई आग्रह : तथ्य र तर्कका आधारमा राजनीतिक धारणा बनाउनुहोस्

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरूलाई तथ्य, तर्क, अध्ययन र बहसका आधारमा आफ्नो राजनीतिक धारणा निर्माण गर्न आग्रह गरेकी छन्।

मदन भण्डारी आइडोलोजी स्टुडेन्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले समयअनुसार राजनीतिक विचार पनि विकसित हुँदै जाने भएकाले युवाहरूले निरन्तर अध्ययन र संवादमार्फत आफ्नो दृष्टिकोण निर्माण गर्नुपर्ने बताइन्।

उनले युवाहरूलाई जिज्ञासा राख्न, अध्ययन गर्न र आफ्ना विचार खुलस्त रूपमा व्यक्त गर्न आग्रह गर्दै अरूका विचार पनि सुन्नुपर्नेमा जोड दिइन्।

“कुनै पनि राजनीतिक विचार समयसँगै विकसित हुँदै जानुपर्छ। त्यसैले तपाईंहरू आफ्नो जिज्ञासा राख्नुस्, अध्ययन गर्नुस्, आफ्ना विचार व्यक्त गर्नुस्। अरूका विचार पनि सुन्नुस् र संवाद तथा बहसबाट आफ्नो धारणा निर्माण गर्नुहोस्,” भण्डारीले भनिन्।

लोकतन्त्रको वास्तविक शक्ति आफूले भनेको कुरा मात्र स्थापित गर्नुमा नभई फरक विचारलाई सम्मानपूर्वक सुन्ने संस्कारमा रहेको उनको भनाइ थियो। उनले तथ्य र तर्कका आधारमा आफ्नो दृष्टिकोण निर्माण गर्ने संस्कार लोकतन्त्रका लागि महत्वपूर्ण रहेको बताइन्।

भण्डारीले अहिलेको पुस्ता सामाजिक सञ्जाल, सूचना प्रविधि र विश्वव्यापी सम्पर्कका कारण विगतका पुस्ताभन्दा धेरै सूचनासम्पन्न भए पनि सूचना धेरै हुनु र सही ज्ञान हुनु फरक कुरा भएको बताइन्।

उनका अनुसार सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्न सक्ने क्षमता आजको पुस्ताका लागि अत्यन्त महत्वपूर्ण छ।

युवाको राजनीतिक सहभागिता निर्वाचनका बेला मत माग्ने वा दिने विषयमा मात्र सीमित हुन नहुने पनि उनले बताइन्।

“राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुनु हुँदैन। राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र होइन,” उनले भनिन्, “समाजलाई बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा आफ्नो भूमिका खोज्ने र देशको विकास तथा परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रिया हो।”

भण्डारीले युवाहरूले राजनीतिक विषयमा आवेगभन्दा पनि अध्ययन, तथ्य र विवेकलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएकी छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्