सुदूरपश्चिम भ्रमणमा रहेका भौतिक पूर्वाधारमन्त्री लम्साल बिरामी, काठमाडौं ल्याउने तयारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । सुदूरपश्चिम भ्रमणमा रहेका भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल अचानक बिरामी परेका छन्। उनलाई आइतबार बिहानदेखि उच्च ज्वरो आएको हो।

बैतडीको गोठालापानी पुगेका बेला मन्त्री लम्साल अस्वस्थ भएपछि जिल्ला अस्पतालका चिकित्सकलाई बोलाएर स्वास्थ्य परीक्षण गरिएको थियो। चिकित्सकले उनलाई भाइरल ज्वरो भएको बताएका छन्।

मन्त्री लम्सालसँगै रहेका सचिवालयका एक सदस्यका अनुसार उनको अवस्था केही गम्भीर रहेकाले थप उपचारका लागि आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ।

‘अवस्था अलि गम्भीर नै छ। यहाँ राम्रा डाक्टर पनि छैनन्। काठमाडौं ल्याउनका लागि हेलिकोप्टरको व्यवस्था हुँदैछ,’ सचिवालयका ती सदस्यले भने।

लम्साल अहिले बैतडीस्थित होटलमै आराम गरिरहेका छन्। बिरामी भएपछि उनको सुदूरपश्चिम भ्रमणअन्तर्गतका बाँकी कार्यक्रम प्रभावित भएका छन्।

मन्त्री लम्साल शुक्रबार विमानमार्फत धनगढी पुगेका थिए। त्यसपछि डोटीको बीपीनगर पुगेर धनगढी–दिपायल द्रुतमार्गको अवलोकन गरेका थिए। उनी त्यहाँबाट आफैँ गाडी चलाएर दार्चुला हुँदै बैतडी पुगेका थिए।

बैतडीमा जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यालय प्रमुखहरूको बैठकमा सहभागी भएर बझाङ जाने उनको कार्यक्रम थियो। तर अचानक बिरामी भएपछि उक्त कार्यक्रम प्रभावित भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्