काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निन्दा, प्रश्न र आलोचनाबीचको फरक छुट्याउन नसकेको टिप्पणी गरेका छन्।
सोमबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन्।
सरकारले सञ्चालन गरेका सार्वजनिक संस्थाहरू नाफामा जान थालेको भन्दै प्रचार गर्न थालेपछि आफूले त्यसबारे दिएको सुझाव र रचनात्मक आलोचनालाई निन्दाका रूपमा लिइएको उनको भनाइ थियो।
थापाले आफूले सार्वजनिक संस्थाहरू नाफामा गएको विषयमा प्रश्न उठाएको स्पष्ट पार्दै आफूले निन्दा नगरेको बताए।
“सरकारले आलोचना के हो, प्रश्न के हो र निन्दा के हो भन्ने कुराको फरक छुट्याउन सकेको छैन। त्यो मेरो आलोचना थियो, त्यो मेरो प्रश्न थियो, त्यो मेरो विवेचना थियो। त्यो मेरो सुझाव थियो। निन्दा थिएन,” थापाले भने।
उनले सार्वजनिक संस्थाहरू नाफामा गएको विषयमा आफूले संसद्मा समेत प्रश्न उठाउँदा केही सांसदहरूले विरोध गरेको उल्लेख गरे।










