प्रधानमन्त्रीलाई संसदीय टोलीले बुझायो चीन भ्रमणको प्रतिवेदन, विगतका सम्झौता कार्यान्वयनमा जोड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ माघ । चीन भ्रमणमा गएको संसदीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन हस्तान्तरण गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेले नेतृत्व गरेको टोलीले प्रधानमन्त्री दाहाललाई प्रतिवेदन हस्तान्तरण गरेको हो।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रममा सुझावलाई समेट्ने प्रतिबद्धता जनाए।

चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको ‘एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआइबीओ)’ को निमन्त्रणामा नेपाली सांसदको टोलीले गत पुस २ देखि १४ सम्म चीनको भ्रमण गरेको थियो। ‘नेपालका सांसदका लागि कार्यशाला’ कार्यक्रममा प्रतिनिधिसभाका १४, राष्ट्रिय सभाका तीन र संघीय संसद् सचिवालयका सचिव सुदर्शन खड्कासहित तीन अधिकृत सहभागी थिए।
भ्रमण टोलीका नेता पाण्डेले लिखित प्रतिवेदन सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय संसद् सचिवालय र सरकारलाई बुझाएर कार्यान्वयनका लागि आग्रह गरिएको बताए।

भ्रमण टोलीले सरकारलाई जनता केन्द्रित विकासको मोडलले नै विकास र समृद्धि ल्याउने तथा नीतिगत निरन्तरता आवश्यक रहेको सुझाव दिएको छ।

यस्तै, दुई देशबीच भएका विगतका समझदारीलाई इमानदारीका साथ कार्यान्वयन गर्नुपर्ने, विकासका लागि भूमिमाथि राज्यको अधिकार बलियो हुनुपर्ने, चिनियाँ लगानीकर्तालाई लगानी वातावरण निर्माण गर्नुपर्ने, चिनियाँ पर्यटकलाई आकर्षण गर्ने कार्यक्रम ल्याउनुपर्ने संसदीय टोलीको सुझाव छ।

गरिबी निवारणमा चीनले प्राप्त गरेको सफलताबाट नेपालले पाठ सिक्दै ग्रामीण बस्तीलाई सडक सञ्जालले जोड्ने, किसानलाई मल, बिउ, उपकरण उपलब्ध गराउने, पर्यटकीय सम्भावना भएका गाउँको विकास गर्ने, नयाँ गाउँको विकास गर्ने तथा सूचना प्रविधि र अन्य सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ। 

विकास र वातावरणलाई सँगसँगै लैजानुपर्ने, भ्रमण कार्यक्रमबारे समयमा नै सम्बन्धित पक्षले संसद् सचिवालयलाई जानकारी गराउनुपर्ने तथा भ्रमणको पूर्वतयारी राम्ररी गरेर मात्र भ्रमण कार्यक्रम तय हुनुपर्ने सुझाव दिइएको छ।

त्यस्तै, चीनसँगका सीमा नाका खोल्ने, व्यवस्थित गर्न जोड दिनुपर्ने, चीनस्थित नेपाली राजदूतावासको भवन बनाउन आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने एवं भ्रमण र अनुभव आदानप्रदानका लागि संस्थागत रुपमै संघ, प्रदेश तथा स्थानीय तहलाई पनि समेट्नुपर्ने संसदीय टोलीको प्रतिवेदनमा समेटिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्