विश्वका विभिन्न १५० विश्वविद्यालयका उपकुलपति काठमाडौँ भेला हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, माघ २९ । विश्वका विभिन्न १५० विश्वविद्यालयका उपकुलपति काठमाडौँ भेला हुने भएको छ । काठमाडौँ विश्वविद्यालयमा यही फागुन ३–५ गतेसम्म नेपालसहित, भारत, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड लगायतका १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरू भेला हुन लागेका हुन् ।

उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा आयोजना गर्न लागिएको हो। भारतीय विश्वविद्यालय सङ्घको आयोजना तथा काठमाडौँ विश्वविद्यालयको तत्त्वावधान सभाको आयोजना गर्न लागिएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा ‘भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण’ मूल विषय रहेको बताइन् । उक्त सभामा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुने उहाँको भनाइ छ।

हालसम्म करिब २२७ सहभागीहरू सहभागिताका लागि आउने निश्चित भएको प्रवक्ता पुनले बताइन्। सभामा नेपालका १५ जना उपकुलपतिको सहभागिता रहनेछ । त्यस्तै भारतबाट विभिन्न १७ राज्यका विश्वविद्यालयबाट समेत सहभागिता हुनेछ। सभा तथा सम्मेलनमा अधिकांश सहभागीहरू भारतीय विश्वविद्यालयबाट हुनेछन् भने दक्षिण पूर्वी एसियाली क्षेत्र, युरोप र अफ्रिकाका विश्वविद्यालयका प्रतिनिधि समेत सहभागी हुनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्