भ्रष्टाचार निवारणका लागि मृत्युदण्डको व्यवस्था गर्नुपर्छ -कानुनविद् भरत जङ्गम

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ २७ । भ्रष्टाचारविरोधी शास्त्रका संस्थापक, लेखक एवं कानुनविद् भरत जङ्गमले भ्रष्टाचार निवारणका लागि मृत्युदण्डको व्यवस्था गर्नुपर्ने बताएका छन् । आज रिपोर्टर्स क्लबमा आयोजित विशेष अन्तरक्रिया कार्यक्रम बोल्दै उहाँले आफूले २०५१ सालदेखि नै भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छ भनेर लागिरहेको बताउनुभयो ।

अहिले भ्रष्टाचारविरुद्ध कुनै पनि कानुन नबनेको र भएका केही कानुन पनि कमजोर रहेको उहाँको दाबी छ । साथै, आफूले विगतमा भ्रष्टाचारका विरुद्धमा थुप्रै मुद्दा र आन्दोलन छेडेको दाबी गर्दै उहाँले अब सडकमा कराउनेभन्दा पनि विश्वविद्यालयमा विद्यार्थीहरूलाई यसविरुद्ध शिक्षा दिन लागिपरेको बताए । आफूले चलाएको अभियानका आधारमा त्रिभुवन विश्वविद्यालयले भ्रष्टाचारविरुद्ध पठनपाठन सुरु गरेको उहाँको दाबी छ ।

त्यस्तै नागरिक अभियन्ता डा. सुन्दरमणि दीक्षितले पनि कानुनमा मृत्युदण्डको व्यवस्था अनिवार्य हुँदै गएको बताएका छन् । उहाँले भ्रष्टाचार नियन्त्रण गर्न मृत्युदण्डको व्यवस्था गर्नुपर्ने र त्यसले गर्दा भ्रष्टाचार गर्न व्यक्ति डराउने बताउनुभयो ।

सरकारले देश र जनताको पक्षमा भन्दा पनि आफ्नो लागि मात्रै काम गरिरहेको उहाँको दाबी छ । डा। दीक्षितले भुटानी शरणार्थी प्रकरणमा पनि निष्पक्ष छानबिन नभएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । अहिलेको सरकारले एउटा फाइल खोल्ने र त्यसलाई केही समयपछि अर्को फाइल खोलेर ओभरल्यापिङ गरिरहेको बताए । सरकारले सुरु गरेको भ्रष्टाचारविरोधी काम अहिलेसम्म कुनै पनि निष्कर्षमा नपुगेको उहाँको दाबी छ ।

संसदीय व्यवस्थामा पैसा, गुण्डागर्दीको भरमा चुनाव जित्ने प्रवृत्ति रहेको उहाँको भनाइ छ । संसदीय व्यवस्था नै गलत भएको उनको दाबी छ । नेपालको परिवेशमा संसदीय व्यवस्था नसुहाउने उहाँको दाबी छ । लोकतन्त्रमा अहिले ‘म’ तन्त्रको हाबी भइरहेको उहाँको दाबी छ । भ्रष्टाचार अन्त्य गर्नका लागि संसदीय व्यवस्थाको अन्त्य र मृत्युदण्डको व्यवस्था गरिएको कानुन ल्याउनुपर्ने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्