काठमाडौँ, १८ माघ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक परिवर्तनका लागि मिलेर काम गरेका शक्तिहरू मिल्न नसके आगामी दिन सहज हुन नसक्ने बताउनु भएको छ ।
परिवर्तनकारी राजनीतिक शक्तिहरू मिलेर नै राजनीति परिवर्तनलाई संस्थागत गर्नुपर्ने भन्दै उहाँले राजनैतिक आन्दोलन मिलेर नै सफल भएकाले यसको संवर्द्धन र संस्थागतका लागि पनि मिल्नुको विकल्प नरहेको बताउनुभयो ।
नेपाली काँग्रेसले सुरु गरेको समुदायमा काँग्रेस कार्यक्रमका क्रममा आज मकवानपुरको हेटौँडा उपमहानगर पालिकामा आयोजित स्थानीय निकायका जनप्रतिनिधिहरू सङ्गको भेटघाट तथा अन्तरक्रियाकामा उहाँले स्थानीय तहलाई प्रभावकारी बनाउन आवश्यक कानुनको अभाव रहेको बताउनुभयो ।
उहाँले अहिले व्यवस्था र दलहरू प्रति अविश्वास बढेको भन्दै काम गर्न चाहिने कानुनको अभावमा चाहेको जसरी काम हुन नसकेको कुरा प्रति आफू जानकार रहेको बताउँदै तिन तहका सरकारको अधिकार बाढफाडको लागि कानुन निर्माणमा ढिलाइ भएकाले प्रश्न उठ्नु स्वाभाविक भयको समेत बताउनु भएको छ ।
संविधान निर्माणका बेला गाउँ गाउँमा सिहंदरवार भन्ने नारा अनुसारको काम जनताले अपेक्षा गरे पनि काम नभए पछि जनतामा निराशा छाउनु स्वाभाविक रहेको भन्दै अब संसदमा रहेका सबै राजनीति दलहरूले आवश्यक कानुन बनाउन एकताबद्ध भएर काम गर्न पर्ने उहाकाे भनाइ छ ।
कानुन बनाएर काम गर्ने वातावरण नभएपछि व्यवस्था प्रति प्रश्न उठाउन थालिएकाले यसतर्फ सबै संसदमा रहेका राजनीतिक दल जिम्मेवार बन्नु पर्ने उहाँको भनाई रहेको थियो ।











