समाजवादी मोर्चामा खटपट : आकार ग्रहण नगर्दै मतभेद, आशंकाले बढ्दो अविश्वास

खबर बुक
  • ख-
  • ख+

चार दलीय समाजवादी मोर्चामा आवद्ध दलहरूबीच आकार ग्रहण नगर्दै विवाद र आशंका उत्पन्न भएको छ ।

विचार मिल्ने भन्दै कम्युनिस्ट घटकसहितका सत्तारूढ दल मिलेर मोर्चा बनाइए पनि साढे दुई महिनामा कुनै प्रस्ट नतिजा दिनेगरी सक्रिय हुन सकेका छैनन् । सत्तारुढ दलबीच थप विश्वास बढाउने मोर्चाको उद्देश्य थियो, तर नजिक र विश्वास बढाउने भन्दा झन् टाढा हुने र अविश्वासको बाटोमा मोर्चामा आबद्ध दल देखिएका छन् । अमेरिकी सहयोगको एमसिसी परियोजनालाई लिएर समाजवादी मोर्चामा विवाद सुरु भएको हो ।

प्रदेश स्तरीय मोर्चा घोषणा नसकिँदै मोर्चामा विवाद देखिएको हो । विवादका कारण मोर्चाको प्रदेश भेलामा समेत असर परेको छ । विवादकै कारण बुधबार धनगढीमा निर्धारित मोर्चाको सन्देश सभा प्रभावित भएको छ । एमसिसी कार्यान्वयनमा जाने दिन मोर्चाले धनगढीमा सन्देश सभा आयोजना गरेको थियो । तर, मोर्चामै सहभागी एउटा दल नेकपा एमसिसीको विरोधमा सडकमा आएपछि सन्देश सभा स्थगित भएको हो । एमसिसी कार्यान्वयनमा जाने भएपछि नेत्रविक्रम चन्द विप्लवले सभामा नजाने बताएका थएि । सभा स्थगित गरेर उनी एमसिसीको विरोधमा सडकमा उत्रिए ।

नेकपा महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत नेताहरू काठमाडौंको माइतीघरमा विरोध प्रदर्शनमा उत्रिएका थिए । मोर्चामा सत्ताबाहिरको नेकपासहित सत्तारूढ नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा सहभागी छन् । गत असारमा चार दलले समाजवादी मोर्चा घोषणा गरेका थिए । विप्लव एमसीसीलाई कार्यान्वयन गर्न नहुने पक्षमा छन् तर, सरकार यसलाई रोक्न नहुने पक्षमा छ । विप्वलमात्रै होइन, माधव नेपाल नेतृत्वको नेकपा एस र माओवादी केन्द्रभित्र समेत एमसीसीको विषयमा समान मत छैन ।

मेर्चाको विवाद एमसिसीमै मात्रै सीमित छैन । साझा मुद्दा लिएर मोर्चा बनाएका दलहरूबीच अन्य मुद्दामा पनि मतभेद छ । सत्ता समीकरणका तनाव, ललितानिवासको जग्गा, गौर हत्याकाण्ड र अमेरिकी सहयोग परियोजना एमसीसीलाई हेर्ने विषयमा समान मत नहुँदा मोर्चामा तीन महिना नपुग्दै तनावको स्थिति देखिएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवको असन्तुष्टिका कारण मोर्चामा खटपटको संकेत देखिन थालिसकेका छन् । घोषणाको २० दिनपछि बल्ल ४ असारमा मोर्चाको पहिलो बैठक बस्यो । दोस्रो बैठक बस्न दुई महिनाभन्दा बढी लाग्यो । ३ भदौमा बसेको मोर्चाको बैठकले सातवटै प्रदेशमा मोर्चा घोषणा कार्यक्रम तय गरेको थियो । प्रदेश र स्थानीय तहसम्मै मोर्चाको संगठनात्मक संरचना बनाउने भनिए पनि सबैतिर संरचना गठनले मूर्तरुप लिएको छैन । मोर्चाको संयोजकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छन् । नेपाललाई पार्र्टी विभाजनको औचित्य पुष्टि गर्ने गरी शक्ति सञ्चय गर्नु थियो । यतिमात्रै होइन, नेता कार्यकर्ताको पलायन रोक्न पनि समाजवादी मोर्चा बनाएर शक्ति देखाउने सोच नेपालमा थियो । तर, मोर्चाले एउटा संगठित आकार नलिँदै तनावको स्थिति सिर्जना हुने क्रम बढ्दो छ ।

अहिले उनै नेपाल सझदारी कायम गर्न नसकिए मोर्चालाई टिकाउन नसकिने बताउन थालेका छन् । मोर्चालाई टिकाउन नेतृत्व तहदेखि कार्यकर्ता तहसम्म विश्वास र समझदारी हुन आवश्यक रहेको उनी ठान्छन् । उनले माथिदेखि तलसम्म कसैलाई हेप्न नहुने बताएका छन् । ‘मोर्चा टिकाउन नेतृत्व तहदेखि कार्यकर्ता तहसम्म विश्वास र समझदारी हुन आवश्यक छ । सबै तहमा राम्रो विश्वास र समझदारी भएन भने मोर्चा टिक्न सक्दैन,’ बिहीबार सुर्खेतमा आयोजित कार्यक्रममा नेपालले भने, ‘एकतासहितको शक्तिले परिवर्तन ल्याउन मोर्चा गठन गरिएको हो । कांग्रेस र मोर्चा बलियो भएमात्रै प्रचण्ड नेतृत्वको सरकार ढल्दैन ।’

कमजोर धरातलमा बनेको मोर्चा जुनसुकै बेला ढल्न सक्छ

 


सरकारले बालुवाटार जग्गा प्रकरणको फाइल खोलेदेखिनै माधव नेपाल असन्तुष्ट छन् । अझै पूर्व प्रधानमन्त्रीमाथि पनि अनुसन्धान अगाडि बढाउन सर्वोच्चले नै आदेश दिएपछि उनको असन्तुष्टि झन् बढेको थियो । यद्यपि उनलाई सामान्य कागजमात्रै गराएर छाडिएको छ । फेरि जतिखेर पनि अनुसन्धानको घेरामा तानिने हो कि भन्ने संशय नेपालमा देखिन्छ । त्यस्तै, यही बेला गौर नरसंहारको छानबिन अगाडि बढाउने तयारी भएपछि मोर्चाको अर्को घटक जसपाका अध्यक्ष यादव पनि उत्तिकै सशंकित छन् । कतिसम्म भने यादवले सरकार छाड्नेसम्मको चेतावनी दिएको बताइन्छ ।

सत्ता समीकरणमा नेपाल र यादवले जतिखेर पन संकट ल्याउन सक्ने भएकाले प्रचण्ड १४ सीटको राप्रपा र २१ सीटको रास्वपालाई विश्वासमा लिने वातावरण बनाउँदै छन् । संसदीय समितिका आफ्नो उम्मेदवार माधव सापकाटोलाई फिर्ता गराएर राप्रपालाई दिने रणनीति यसै अन्तर्गतको भएको बताइन्छ, किनकि केन्द्रमा समितिको सभापति दिँदा भित्री रूपमा कोशी प्रदेशको सत्ता जोगाउने नीति पनि प्रचण्डले लिएका छन् ।

कुनै रणनीतिक स्वार्थभन्दा पनि तत्कालको शक्ति सञ्चयको स्वार्थले बनेकाले यो मोर्चाको मेल र बेमेलले स्थिति आएको हो । प्रचण्डलाई गठबन्धनका तीन÷चार दल ल्याउँदा सत्तारुढ कांग्रेसलाई दबाबमा राख्न सकिन्छ भन्ने लागेर मोर्चा बनाएको विश्लेषकहरू बताउँछन् । आफ्नै अनुकूलतामा शक्ति सञ्चय गर्न सकिने र दबाब बढाउने भन्दा मोर्चाको अरू कुनै सैद्धान्तिक र व्यावहारिक उद्देश्य देखिन्न । कमजोर धरातलमा बनेको र उभिएको मोर्चा जुनसुकै बेला ढल्न सक्ने राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्