काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो नेतृत्वमा भएको पार्टीको विशेष महाधिवेशन विधानसम्मत भएको दोहोर्याएका छन् । अदालतसमक्ष विशेष महाधिवेशनको वैधानिकता फेरि पुष्टी गर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।
आज पार्टी निकट आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै थापाले आगामी २४ गते बस्ने पार्टी केन्द्रीय समितिको वैठकमा अदालतको आदेशबारे राम्रोसँग छलफल गरेर धारणा बनाउने बताए । यसमा कुनै हतार गर्नुपर्ने आवश्यकता नभएको टिप्पणी उनले गरे ।
थापाले भने, ‘पार्टीको विधानमा भएको व्यवस्थालाई सार्वभौम सदस्यले प्रयोग गरेर विशेष महाधिवेशन गरेका हौं । विशेष महाधिवेशन आवश्यक पनि थियो, गर्न पाउने अधिकार पनि थियो । विशेष महाधिवेशनको वैधानिकता महाधिवेशनकै हलबाट पुष्टि गरिसक्यौँ । निर्वाचन आयोगले र सर्वोच्चको बेञ्चले पनि पुष्टि गरिसके । फेरि पुष्ट्याईं गर्नुपर्छ भनेर अदालतले भनेको सन्दर्भमा विशेष महाधिवेशन वैधानिक थियो भनेर पुष्टि गर्ने अर्को अवसर प्राप्त गरेको रुपमा मैले बुझेको छु । अदालतको प्रक्रियामा शानका साथमा सहभागी हुन्छौ र प्रतिरक्षा गर्नेछौँ ।’










