काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) ले कर्मचारीले आफैँ गाडी चलाएमा चालकको तलबसमेत आफैँले पाउने गरी ल्याउन लागिएको नयाँ निर्देशिकाको प्रस्तावप्रति आपत्ति जनाएकी छन् । उनले यस्तो व्यवस्थाले श्रमजीवी वर्गको रोजगारी खोस्ने भन्दै कुनै पनि हालतमा स्वीकार्य नहुने बताएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कर्मचारीहरूको सवारीसाधन व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार गरेको छ । उक्त मस्यौदामा चालकको तलबसमेत कर्मचारीलाई उपलब्ध गराउने खालको व्यवस्था राखिएको समाचार नेपाल प्रेसले सार्वजनिक गरेको थियो । सोही समाचारमा प्रतिक्रिया दिँदै सांसद संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रस्तावप्रति असन्तुष्टि जनाएकी हुन् ।
‘यदि यो सत्य हो भने यो नियम कसै गरे पनि ठीक छैन ! जागिर खाइरहेको व्यक्तिको रोजगारी खोसेर हुँदैन । त्यो ड्राइभरले पाउने तलब उसैले पाउनु पर्छ,’ उनले लेखेकी छन् ।
उनले कर्मचारीले आफैँ गाडी चलाएर चालकको तलबसमेत लिने व्यवस्था उचित नभएको उल्लेख गर्दै सांसदले पनि स्वकीय सचिव नराखी आफैँ काम गर्ने र त्यसबापतको सुविधा आफैँ लिने भन्न थाले के हुन्छ भन्ने प्रश्न गरेकी छन् ।
‘उसो भए सांसदले पनि स्वकीय नराखी आफैँ गर्छु, आफैँ खान्छु भन्न थाले भने के हुन्छ ? नियम पनि चाहिँदो बनाउनुपर्छ,’ उनले भनेकी छन् ।
वर्तमान सरकारले नागरिकमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै संग्रौलाले गरिब तथा निमुखा नागरिकको रोजीरोटी खोसेर कर्मचारीलाई मात्र सुविधा दिने नीति उचित नहुने बताएकी छन् ।
‘जनमुखी सरकारले नागरिकमैत्री वातावरण बनाउने पो हो त ! गरिब निमुखाको रोजीरोटी खोसेर कर्मचारी मात्र पोस्ने काम मलाई चाहिँ ठीक लागेन,’ उनले लेखेकी छन् ।
उनले प्रस्तावित व्यवस्थाले तल्लो तहका श्रमजीवी तथा सवारीचालकहरूको रोजगारी र जीविकोपार्जनमा प्रत्यक्ष असर पार्न सक्ने उल्लेख गर्दै यस विषयमा आम नागरिक तथा सरोकारवालाको प्रतिक्रिया माग गरेकी छन् ।
सरकारले प्रशासनिक खर्च कटौती गर्ने उद्देश्यले अघि सारेको भनिएको उक्त प्रस्तावलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।










