इरानपछि क्युबातर्फ लक्षित हुने ट्रम्पको चेतावनी, कम्युनिस्ट सरकार हटाउन क्युबाली जनतालाई आह्वान

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मुद्दा सुल्झिएपछि आफूहरू क्युबाको मामलातर्फ केन्द्रित हुने शुक्रबार स्पष्ट पारेका छन्। ट्रम्पका अनुसार यो सम्झौता पूरा गर्नका लागि अमेरिकाले मार्को रुबियोलाई पठाउनेछ।

ट्रम्प प्रशासन क्युबाको कम्युनिस्ट सरकारलाई हटाउने योजनामा काम गरिरहेको छ। अर्कातर्फ, क्युबाका विदेश मन्त्रीले भने क्युबा अमेरिकासँग वार्ताका लागि सधैँ तयार रहेको बताएका छन्।

फ्लोरिडामा आयोजित एक र्‍यालीका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, “इरानबाट फर्किएपछि हामी क्युबाको मामला हेर्नेछौँ।” उनले क्युबासँगको यो सम्झौता पूरा गर्न विदेश मन्त्री मार्को रुबियोलाई पठाइने स्पष्ट पारे।

यसैबीच, अमेरिकी विदेश मन्त्री मार्को रुबियोले ‘एक्स’ मा पोस्ट गर्दै क्युबाका जनतालाई परिवर्तन ल्याउन अपिल गरेका छन्। उनले क्युबामा परिवर्तन चाहनेहरूका लागि यही नै उपयुक्त समय भएको बताएका छन्।

रुबियोले आफ्नो पोस्टमा तोडिएका बाचा, भ्रष्टाचार र केही सीमित व्यक्तिहरूको विलासी जीवनशैलीबाट जनता निराश बनेको उल्लेख गरेका छन्। उनले क्युबाली जनतालाई अमेरिकी गुप्तचर संस्था सीआईएसँग गुप्त साझेदारी कायम गरी आफ्नो इच्छाअनुसार परिवर्तन ल्याउन आह्वान गरेका छन्।

गत महिना पनि ट्रम्पले क्युबासँग सम्झौता गर्ने कुरा गरेका थिए। उनले क्युबासँग चाँडै नै सम्झौता हुने र यसका लागि कुनै सैन्य कारबाहीको आवश्यकतासमेत नपर्ने स्पष्ट पारेका थिए। उल्लेखनीय छ, ट्रम्प प्रशासनले यसअघि पनि विभिन्न मञ्चहरूबाट क्युबाको कम्युनिस्ट सरकार हटाउने आफ्नो योजना रहेको बताउँदै आएको छ।

यसै वर्षको सुरुआतमा अमेरिकाले क्युबामाथि तेल प्रतिबन्ध लगाएको थियो। हाल क्युबामा एकातिर इन्धनको ठूलो अभाव छ भने अर्कातिर जीर्ण पूर्वाधारका कारण क्युबालीहरूले चरम लोडसेडिङ (विद्युत् कटौती) को सामना गर्नुपरिरहेको छ।

अमेरिकाले विगत ६० वर्षभन्दा बढी समयदेखि क्युबामाथि आर्थिक तथा व्यापारिक प्रतिबन्धहरू लगाउँदै आएको छ। गत जनवरीमा अमेरिकी सेनाले भेनेजुयलाका तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि क्युबामाथि ट्रम्प प्रशासनको दबाब अझ बढेको छ।

यसैबीच, क्युबाका विदेश मन्त्रीले गत महिना संयुक्त राष्ट्रसङ्घको साधारण सभामा बोल्दै क्युबा अमेरिकासँग वार्ताका लागि सधैँ खुला र तयार रहेको बताएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्