काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु हुने भएको छ ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार दिउँसो २ः३० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियानको उद्घाटन गरिनेछ । कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
असोज २३ गते बसेको नेकपाको केन्द्रीय संयोजन समिति बैठकले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानसँगै आगामी स्थानीय तह निर्वाचनअघि वडा र पालिका अधिवेशन गर्ने निर्णयसमेत गरिएको छ ।
राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविकाका सवालको सम्बोधन तथा पार्टी समायोजन, सदस्यता नवीकरण र सङ्गठन सुदृढीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको पार्टीले जनाएको छ ।
यस्ता छन् अभियानका कार्यक्रम
अभियानअन्तर्गत पार्टी समितिहरू तथा जनवर्गीय र मोर्चा सङ्गठनहरूको समायोजनसम्बन्धी बाँकी काम सम्पन्न गरिनेछ । सङ्गठित सदस्यता नवीकरण तथा विस्तार अभियानलाई तीव्र बनाइनेछ भने पार्टीका बैठक, भेला र प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।
त्यस्तै, जनता र पार्टीबीचको सम्बन्ध प्रगाढ बनाउन जनताकेन्द्रित कार्यक्रम तथा सांस्कृतिक र अन्य रचनात्मक गतिविधि सञ्चालन गरिनेछ ।
जनताका माग र दैनिक जनजीविकासँग सम्बन्धित मुद्दा सङ्कलन गरी सम्बन्धित निकायमा पेस गर्ने र कार्यान्वयनका लागि पहल गर्ने कार्यक्रम पनि अभियानमा समेटिएको छ । श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन गर्नुका साथै विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काममा सहयोग गरिनेछ ।
राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन तथा जनजीविकाका सवालमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने पार्टीले जनाएको छ ।
अभियानका क्रममा महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनताका अन्य समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइनेछ । यसका लागि केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारी वा अन्य सम्बन्धित निकायसमक्ष मागपत्र र ज्ञापनपत्र पेस गरिनेछ ।










