वर्तमान सरकारले उत्पीडित वर्गको भावना सम्बोधन गर्न सकेनः नेता आङदेम्बे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान सरकारले आदिवासी जनजाति, दलित, महिला तथा सीमान्तकृत समुदायको मुद्दालाई उपेक्षा गरेको आरोप लगाएका छन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गरेका हुन् । नेता आङदेम्बेले राजनीतिक यात्रामा उतारचढाव आउनु स्वाभाविक भएको उल्लेख गर्दै पार्टीको स्पष्ट दृष्टिकोण र दृढ संकल्पले मुलुकको सबै भूगोल र समुदायको संवेदनशीलतालाई सम्बोधन गर्ने दाबी गरे ।

संसद्मा देखिएको वर्तमान सत्ता समीकरण र अंकगणितलाई ‘नाटक’को संज्ञा दिँदै उनले दुई–तिहाइ नजिकको बहुमत भएपनि सरकारले वास्तविक जनताको आवाज उठाउन नसकेको तर्क गए । ‘जस्तोसुकै प्रतिकूल परिस्थिति वा आँधीहुरी आए पनि नेपाली कांग्रेसको लक्ष्य र उद्देश्य विचलित हुँदैन । विशेष महाधिवेशनपछि सङ्गठित भएको कांग्रेस थप सुदृढ र परिष्कृत भएर अगाडि बढेको छ । सिंहदरबार भित्र देखिएको यो बहुमतले आदिवासी जनजाति, दलित, महिला र गरिब किसानको संवेदनशीलता बुझ्न सकेको छैन । यो सरकार नैतिक धरातलमा उभिएको छैन’ उनले भने ।

मुलुकको लोकतन्त्र रक्षा र संविधानमा सबै वर्गको अधिकार सुनिश्चित गर्न नेपाली काँग्रेस नै नेतृत्वदायी भुमिकामा आउनुपर्नेमा उनले जोड दिए ।

भूगोलमा रहेका पार्टी कार्यकर्ताहरूलाई आफ्नो आवाज सशक्त बनाउन आग्रह गर्दै उनले भविष्यमा कसैले खोस्न नसक्ने गरी उत्पीडितका अधिकारहरूलाई संवैधानिक दस्तावेजमा लिपिवद्ध गर्नुपर्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्