काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
मन्त्री वादीले प्रस्तुत गरेको प्रस्तावलाई सदनले सर्वसम्मत रूपमा स्वीकृत गर्दै विधेयकलाई थप छलफलका लागि संसदीय समितिमा पठाउने निर्णय गरेको हो ।
संशोधन विधेयकले बालबालिकाको अधिकार तथा संरक्षणसम्बन्धी विद्यमान कानुनलाई समसामयिक बनाउनुका साथै कानुनमा रहेका त्रुटि सच्याउने उद्देश्य राखेको छ ।
समितिमा दफावार छलफल सम्पन्न भएपछि विधेयक प्रतिवेदनसहित पुनः सदनमा पेस हुनेछ । त्यसपछि विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्नेछ ।










