काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई प्रचलित कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका छन् ।
शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न भएको विषय सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि मन्त्री पोखरेलले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिमाथि निगरानी गर्न र त्यस्तो गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।
यसैबीच, शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले जिल्लाका विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भए/नभएको निगरानी गर्न जिल्लाका १० वटै स्थानीय तहलाई निर्देशन दिएको छ ।
एकाइले सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनाका आधारमा केही विद्यालयका शिक्षकहरू विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएको जनाएको छ ।
प्रचलित शिक्षा ऐन तथा नियमावलीले निर्धारण गरेको शिक्षक आचरण र मापदण्ड तथा नेपाल सरकारका पछिल्ला निर्देशनविपरीत गतिविधि पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्नसमेत स्थानीय तहलाई आग्रह गरिएको छ ।
एकाइ प्रमुख दशरथ दत्त भट्टद्वारा जारी पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालयलाई दिइएको छ । त्यस्तै, शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुलीले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइए कारबाही गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ ।
एकाइले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्राचार गर्दै सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सहभागी भएको जानकारी प्राप्त भएको जनाएको छ ।
एकाइ प्रमुख तथा उपसचिव दिनेशप्रसाद देवकोटाले जारी गरेको पत्रमा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा चार जना शिक्षक तथा कर्मचारीको राजनीतिक गतिविधिमा संलग्नता देखिएको उल्लेख छ । पत्रमा प्रेमप्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुनकुमार गौतम र यतिराज तिमल्सिनाको नाम उल्लेख गरिएको छ ।
उक्त गतिविधि शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) मा उल्लिखित व्यवस्थाविपरीत हुने उल्लेख गर्दै सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गर्न स्थानीय तहलाई अनुरोध गरिएको छ ।
कारबाहीबारे शिक्षा विकास तथा समन्वय एकाइलाई अविलम्ब जानकारी गराउनसमेत भनिएको छ । पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभागलाई दिइएको छ।










