सरकारको कार्यशैलीप्रति संसद्‍मा रास्वपा सांसदहरूकै आक्रोश

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आफ्नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैली जनअपेक्षाविपरीत भएको भन्दै संसद्‍मा आलोचना गरेका छन्।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरू टीका (ज्वाला) संग्रौला, रमेश प्रसाई र मनिष झाले सरकारको नियत सफा देखिए पनि काम गर्ने ढङ्ग नपुग्दा नागरिकले सास्ती भोग्नुपरेको टिप्पणी गरेका छन् ।

सांसद प्रसाईले निर्वाचनका बेला जनतासँग गरिएका बाचाहरूले अहिले आफैँलाई झस्काइरहेको बताए । ‘हामीले निर्वाचनमा ‘नो लाइन, केबल अनलाइन’ भन्ने नारा दिएर मत मागेका थियौँ,’ प्रसाईले भने, ‘तर अहिले अनलाइन होइन, बजारमा नागरिकको लामो लाइन मात्र देखिन्छ। ग्यास लिन लाइन बस्नुपर्छ, अनलाइन भनिएका सेवाका सर्भर बिग्रेको बिग्रियै गर्छन्।’ उनले प्रविधिको गफ दिएर नागरिकलाई सास्ती दिनु न्यायोचित नभएको भन्दै तत्काल सुधार गर्न माग गरे ।

सांसद मनिष झाले सरकारको नियतमा शङ्का नगरे पनि काम गर्ने शैलीको खडेरी परेको तर्क गरे । ‘सरकारलाई के थाहा छैन भन्ने कुरा नै थाहा नभएको जस्तो देखिन्छ,’ झाले भने, ‘मधेसका बोर्डरमा गरिबलाई सास्ती दिने तर एयरपोर्टमा धनीलाई छुट दिने विभेदकारी सोच राज्यमा अझै छ।’ उनले निजी क्षेत्र र वैदेशिक लगानीकर्ता त्रसित रहेको भन्दै सरकारले उनीहरूलाई भरोसा दिन नसकेको आरोप लगाए ।

त्यस्तै, सांसद टिका संग्रौलाले पनि सरकारले जनअपेक्षा अनुसार गति लिन नसकेको भन्दै आलोचना गरिन् । उनले राज्यका विभिन्न निकायमा हुने ढिलासुस्ती र सुशासनको अभावले सर्वसाधारणमा निराशा छाएको उल्लेख गर्दै सरकारले भाषणमा भन्दा परिणाममा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

रास्वपाका यी तीनै सांसदले सरकारले आफ्ना नीति र प्राथमिकताहरूलाई व्यवहारमा उतार्न नसकेकोमा चिन्ता व्यक्त गरे । सांसदहरूले मधेसको मुद्दा, निजी क्षेत्रको सुरक्षा, र डिजिटल नेपालको नारालाई सार्थक बनाउन सरकारलाई विशेष सुझाव समेत दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्