काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले जेनजी आन्दोलनका सहिदका परिवार र घाइतेहरूसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गरेकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन्।
सरकारले सहिदका परिवार र घाइतेहरूसँग एक महिनाभित्र पूरा गर्ने गरी गरेको २३ बुँदे सहमतिको समय एक महिना चार दिन बितिसक्दा समेत कार्यान्वयन हुन नसकेको भन्दै उनले आपत्ति जनाइन्। राज्यले गरेको वाचा पूरा नगर्दा पीडितको पीडा थप बढ्दै गएको उनले बताइन्। अबको एक महिनाभित्र उक्त सहमतिका लागि कार्ययोजना, बजेट र समयतालिका सार्वजनिक गर्न उनले सरकारसँग माग गरेकी छन्।
घाइते र सहिद परिवारका लागि एकद्वार सेवा तुरुन्त सुचारु गर्न तथा उनीहरूलाई एउटै कामका लागि धेरै कार्यालय धाउन नपर्ने वातावरण निर्माण गर्न समेत उनले सरकारको ध्यानाकर्षण गराइन्।
‘सहिद र घाइते परिवारसँग एक महिना अगाडि एक महिनाभित्र पूरा गर्छौँ भनेर गरिएको २३ बुँदे सहमति स्मरण गराउन चाहन्छु,’ सांसद खतिवडाले भनिन्, ‘राज्यले गरेको वाचा पूरा नहुँदा पीडितको पीडा झनै बढ्दै गइरहेको छ।’
उनले आगामी दिनका लागि स्पष्ट योजना ल्याउन माग गरिन्। ‘३० दिनभित्र २३ बुँदे सहमति कार्यान्वयन कार्ययोजना, बजेट र समयतालिका सार्वजनिक गरियोस्,’ उनले थपिन्, ‘घाइते र सहिद परिवारका लागि एकद्वार सेवा तुरुन्त सुचारु गरियोस्।’
कामको प्रगति निरन्तर रूपमा सदन र पीडित परिवारलाई जानकारी गराउन उनले आग्रह गरिन्। ‘घाइते र सहिदका परिवारलाई एउटै कामका लागि धेरै कार्यालय धाउन नपरोस्,’ उनले भनिन्, ‘सहिद परिवारले आफ्नो सन्तान, परिवार र जीवनसाथी गुमाएका छन्, उनीहरूलाई भाषणको सहानुभूति होइन, व्यावहारिक न्याय र सम्मान चाहिएको छ।’
सांसद खतिवडाले पीडितहरूलाई भाषणको सहानुभूति नभई व्यावहारिक न्याय र सम्मान चाहिएको जिकिर गरेकी छन्।










