नेपाल विश्वकै सुन्दर मुलुक हुन सक्छ : सभामुख घिमिरे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ भदौ । सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर देशहरूको सूचीमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताउनुभएको छ ।

नेपाललाई विश्वकै सुन्दर देशको अग्रणी बनाउन त्यसैअनुसारको अध्ययन, विश्लेषणको जरुरी रहेको उहाँकाे भनाइ छ ।

आज शुक्रवार ललितपुरकाे महालक्ष्मी नगरपालिकाले लाँकुरी भञ्ज्याङमा स्थापना गरेको मनमोहन मेमोरियल टावर परिसरमा लालीगुँरास फूलको बिरुवा रोपेपछि सभामुख घिमिरेले सञ्चारकर्मीमाझ नेपाल सुन्दर देश भए पनि त्यसलाई अगाडि बढाउने गरी अध्ययन र अनुसन्धानको पाटोमा काम हुन नसकेको बताउनुभयो । उहाँले लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने अभियान चलाएको भन्दै महालक्ष्मी नगरपालिकाप्रति खुशी व्यक्त गर्नुभयाे ।

महालक्ष्मी नगरपालिकाले काठमाण्डाै उपत्यकाको नजिकै रहेको लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने गरी त्यस क्षेत्रमा गणेशमान सिंह स्मृति पार्क बनाएको छ । अहिले मनमोहन मेमोरियल टावर पनि निर्माण गरिएको हाे ।

नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने अभियानअन्तर्गत आउँदाे माघमा ‘लाँकुरी भञ्ज्याङ वर्ष’ मनाउने योजना पनि तय गरिएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले त्यहाँको विकासका लागि राष्ट्रिय विभूतिहरूको स्मृति पार्क बनाउँदै जानेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्