पर्सा, ८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने काम भइरहेको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।
समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आज शुक्रवार आयोजित सन्देश सभामा उहाँले भन्नुभयो, ‘यतिबेला जनयुद्ध र मधेस आन्दोलनमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न सामाजिक सञ्जालहरूबाट भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ, खासगरी क्रान्तिकारी नेता र क्रान्तिकारी पार्टीका विरुद्ध ठूलो प्रपञ्च भइरहेको छ ।’ यो बडो दुःखद कुरा भएको र यसलाई आफूहरूले गम्भीररूपमा लिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
प्रतिगामी शक्तिका विरुद्ध र नागरिकलाई समाजवादको यात्राका डोर्याउन समाजवादी मोर्चा बनाएको उल्लेख गर्दै उहाँले पुराना एजेन्डा र पुरानो विचारले प्रतिगामी शक्तिसँग लड्न नसक्ने भएकाले नयाँ सोच, नयाँ विचार र नयाँ एजेन्डाका साथ अघि बढेको बताउनुभयो ।
विभिन्न अवरोध, अड्चनका बाबजुद नक्कली भुटानी शरणार्थी घटनालाई छानबिन गरी निष्कर्षमा पुर्याइएको भन्दै ललिता निवास काण्ड र सुन तस्करी काण्डलाई पनि सरकारले निष्कर्षमा पुर्याउने उहाँले दाबी गर्नुभयो ।
यसबाहेक सरकारले मधेसमा ठूलो समस्याको रूपमा देखिएको मिटरब्याजी पीडितहरूको समस्यालाई ऐन बनाएर सम्बोधन गर्ने प्रयास गरिएको र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने कामलाई अघि बढाएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । मधेसको विकासका लागि आफू चिन्तित रहेको बताउँदै उहाँले निजगढ विमानस्थल निर्माणका लागि बिहीवार नै मन्त्रिपरिषदबाट निर्णय भइसकेकाले काम छिट्टै अघि बढ्ने दाबी गर्नुभयो ।
मधेस प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहत प्याकेज ल्याउने तयारी भइरहेका बेला ठूलो वर्षा र बाढी आएकाले त्यो तत्कालका लागि रोकिएको उल्लेख गर्दै उहाँले एक–दुई दिनभित्रै त्यो निर्णय गरिने र मधेसका किसानले राहत पाउने विश्वास व्यक्त गर्नुभयो । मधेसमा सिँचाइ गर्न सुनकोशी–मरिन डाइभर्सनको कामलाई तीव्रता दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले निजगढ–काठमाण्डौ फास्ट ट्र्याकको काम छिट्टै सम्पन्न हुने विश्वास दिलाउनुभयो ।
लामो समयदेखि रोकिएको सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन तत्काल संसदबाट पारित गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले तीन वटै ऐन पारित गराई कार्यान्वयन गर्न सरकार दृढ रहेको बताउनुभयो । संविधान निर्माणका क्रममा आफ्नो पार्टीले केही असहमति राखेर पास गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानमा रहेको त्रुटि सच्याउन र संविधानलाई व्यवस्थितरूपमा संशोधन गर्न सरकार, सदन र सडक तीन वटै मोर्चाबाट पहल र प्रयास आवश्यक रहेको जिकिर गर्नुभयो ।











